एजेन्सी । विश्वभर भएका जलवायुजन्य प्राकृतिक विपत्तिले गएकाे ५० वर्षमा २० लाख जनाभन्दा धेरैको ज्यान गएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

राष्ट्र सङ्घको मौसमसम्बन्धी सङ्गठन डब्लूएमओले सार्वजनिक गरेको एक प्रतिवेदनले सन् १९७० देखि २०२१ सम्ममा ११ हजार सात सय ७८ वटा ठूला जलवायुजन्य प्राकृतिक विपत्तिका घटना भएका उल्लेख गरेको छ । यी घटनामा २० लाख जनाभन्दा धेरैको ज्यान गएको डब्लूएमओले जनाएको छ । यी घटनाबाट चार खर्ब ३० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको पनि प्रतिवेदनमा उल्लेख रहेको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा आँधी, मुसलधार वर्षापछि बाढी–पहिरो, हिमपहिरोलगायतका घटनाहरू बढिरहेका उल्लेख छ ।

पछिल्लो समयमा भएका घटनाको उदाहरणको रूपमा संयुक्त राष्ट्र सङ्घले ‘मोका’ नामको आँधीले बङ्गलादेश र म्यान्मारमा मानवीय क्षति पुर्‍याएकाे उल्लेख गरेको छ । खडेरीका कारण भएका घटनालाई भने याे प्रतिवेदनमा समेटिएको छैन । जलवायुजन्य विपत्तिहरूमध्ये झन्डै ९० प्रतिशत घटना विकासशील देशले भोग्नुपरेको पनि प्रतिवेदनले जनाएको छ ।