हेटौंडा । प्रेस सेन्टर मकवानपुर उत्कृष्ट जिल्लाको रुपमा सम्मानित भएको छ । प्रेस सेन्टर नेपालको १९ औं केन्द्रिय साधारण सभा तथा २१ औं “कृष्णसेन इच्छुक“ स्मृति दिवसको अबसरमा उत्कृष्ट जिल्लाको रुपमा प्रेस सेन्टर मकवानपुर शाखा सम्मानित भएको हो । प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाले सम्मानपत्र ग्रहण गरेकी थिइन ।

त्यस्तै उत्कृष्ट जिल्ला शाखा सुनसरी र बाँकेलाई पनि सम्मान गरिएको थियो । सोही अवसरमा प्रेस सेन्टरमा आवद्ध भएर पनि स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई पनि सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा गोरखाको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा, नुवाकोटका विदुर नगरपालिकाकी उपमेयर प्रभा वोगटी, रुकुमको सानेभरी गाउँपालिकाकी उपाध्यक्ष कमला रोक्का, प्युठान गौमुखी गाउँपालिकाका अध्यक्ष महावीर राना रहेका थिए ।

शनिबारदेखि काठमाडौंको शंखरापुर नगरपालिकामा सुरु भएको वार्षिक साधारण सभा तथा स्मृति दिवस आइतबारसम्म चल्ने छ । साधारण सभा तथा स्मृति दिवसको प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । साधारण सभा तथा स्मृति दिवसमा प्रेस सेन्टर नेपालका पदाधिकारीसहित केन्द्रीय सदस्य, सात वटै प्रदेश समिति तथा उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसियट प्रदेशका अध्यक्ष, ७७ वटै जिल्ला समन्वय समितिका अध्यक्षको सहभागिता रहेको संगठनका उपाध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए ।

उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै पूर्व सभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महरा, पार्टीका स्थायी समिति सदस्य एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहाल, प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार एवम प्रेस सेन्टर नेपालका सल्लाहकार गोविन्द आचार्यको सहभागिता रहेको छ ।

सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारलाई संगठित गर्ने, उनीहरुको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने लगायतका प्रमुख उद्देश्य राखेर प्रेस सेन्टर नेपालको २०६१ सालमा स्थापना भएको हो ।

संगठनको चौंथो महाधिवेशन २०७८ मंसिर १८ देखि १९ सम चितवनको भरतपुरमा सम्पन्न भएको थियो । महधिवेशनले विष्णु सापकोटा जुगलको नेतृत्वमा एक सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो ।

त्यसैगरी संगठनको २०७९ साउन १३ र १४ गते काठमाडौंमा सम्पन दोस्रो पूर्ण बैठकबाट संगठनको महासचिवमा सन्तोष पौडेलसहित एक बरिष्ठ उपाध्यक्ष, १९ उपाध्यक्ष, १० उपमहासचिव, २६ सचिव, एक कोषाध्यक्ष र एक सह कोषाध्यक्ष रहेको ६१ सदस्यीय पदाधिकारी चयन गरेको थियो ।