

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकबाट करिव ७ किलोमिटरको दुरीमा रहेको छ वनस्पति अनुसन्धान केन्द्र मकवानपुर, वृन्दावन वनस्पति उद्यान । हेटौंडा उपमहानगरपालिका वडा नं. १३ पदमपोखरीमा रहेको यो वनस्पति केन्द्रमा पुग्नै पर्ने विविध कारण रहेका छन । मकवानपुरमा रहेको अध्ययन तथा भ्रमण गर्नै पर्ने ठाउँ मध्ये यो पनि बिशेष स्थान हो । वनस्पति अध्ययन, संरक्षण, शिक्षा र मनोरञ्जनका लागि यहाँ जार्नै पर्ने देखिन्छ ।
नेपालमा विद्यमान जडीबुटीहरूको पहिचान, संकलन तथा व्यापार व्यवस्थित एवं विकास गर्ने उद्देश्यले वि.सं. १९९४ मा वनस्पति फाँटको रूपमा थालनी भएको थियो । यसलाई वि.सं.२०१६ मा नेपालमा वनस्पति विविधताको पहिचान, अध्ययन, सदुपयोग, प्रविधि विकास तथा प्रवद्र्धन गर्ने मूल उद्देश्य लिई वनस्पति विभागको रूपमा विकास गरियो । विभागले लिएको उद्देश्य र लक्ष्य हासिल गर्न वि.सं. २०१९ सालमा मकवानपुर जिल्लाको पदमपोखरीको वृन्दावनमा र २०२२ सालमा दामन र टिष्टुङमा गरी ३ वटा वनस्पति उद्यानहरूको स्थापना गरियो । वि.सं. २०५६ सालमा विभागको सांगठिक पुनरसंरचना भई जिल्ला वनस्पति कार्यालय, मकवानपुर बनाइएको थियो । पछि वि.सं. २०७५ मा पुनः सांगठिक पुनसंरचना गरियो । यसअनुसार साविकको जिल्ला वनस्पति कार्यालयको नाम परिमार्जन भई वनस्पति अनुसन्धान केन्द्र मकवानपुर बन्यो । हाल वृन्दावन, दामन र टिष्टुङ वनस्पति उद्यानहरूसमेत यसै अनुसन्धान केन्द्र अन्तर्गत रहेका छन् ।
वनस्पति अनुसन्धान केन्द्र, मकवानपुर अन्तर्गतका ३ वटा वनस्पति उद्यानहरूमा ६५० भन्दा बढी प्रजातिका वनस्पतिहरूको वंशाणु स्रोत संरक्षित छन् । जिल्ला भित्रका एवं चुरे क्षेत्रका विभिन्न स्थानबाट वनस्पति सर्वेक्षण, संकलन गरी पहिचान गर्ने र वनस्पतिहरूको हर्वेरियम नमुना संरक्षित गर्ने कार्य गर्दै आइरहेको छ ।
केन्द्रले वनस्पति सम्पदाहरूको विस्तृत सर्वेक्षण, संकलन तथा पहिचान गर्ने वनस्पतिहरूको वंशाणु स्रोत संरक्षण गर्ने, जडीबुटीहरू सम्बन्धी अध्ययन, अनुसन्धान गरी खेती प्रविधि विकास गर्ने, सुगन्धित तेलयुक्त वनस्पतिहरूको तेल प्रतिशत परीक्षण गर्ने, प्राविधिक दृष्टिले फाइदाजनक जडीबुटीहरूको सूचना प्रवाह गर्ने, परम्परागत वनस्पति उपयोगसम्बन्धी अध्ययन (एथ्नो बोटानिकल स्टडी), अनुसन्धान गरी वनस्पति तथा जैविक स्रोतको उपयोग सम्बन्धी ज्ञानलाई अभिलेखीकरण गर्ने, जडीबुटीहरूको विरूवा उत्पादन तथा वितरण गर्ने, जडीबुटी संरक्षण, खेती तथा प्रशोधनका बारेमा तालिम तथा सेवा प्रदान गर्नेलगायतका उद्देश्य यो कार्यालयको रहेको छ ।
यसैगरी वनस्पतिहरूको वंशाणु स्रोतको संरक्षण गर्ने, शोभनीय फूलविरूवा उत्पादन गरी उद्यानलाई मनोरम र रमणीय स्थलको रूपमा विकास गर्दै पर्यापर्यटनमा अभिवृद्वि गर्ने, उद्यान परिसरमा आउने विद्यार्थीहरू, अवलोकनकर्ता, पेशाकर्मी तथा सोधकर्ताहरूलाई वनस्पति तथा उद्यानको महत्वबारे शिक्षा दिने, स्वदेशी शोभनीय फूल विरूवा अध्ययन, अनुसन्धान गर्ने काम पनि कार्यालयले गरिरहेको छ ।
वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख तथा वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीको सक्रियतामा भोटे लहरा खोजेर अहिले संरक्षण गरिएको छ । वि.स २०७८ साल वैशाख १४ गते मकवानपुरको बकैया गाउँपालिकाको वडा नं ११ मा पर्ने ठिंगन क्षेत्रमा सिमात पुलनिर पुगेपछि गाडी रोकेर करिब दुई सय मिटर दूरीमा खोजी गर्दै गर्दा ठ्याक्कै भोटे लहरा फेला परेको थियो ।
यो सङ्कटापन्न सूचीमा रहेको वनस्पति हो । दम खोकीमा यसको फल उपयोगी हुने अध्ययनहरूले देखाएका छन् । यसको लोक्ता बन्दुकको झोला बनाउन उपयोग हुने गरेको छ ।
यसको सबै भन्दा ठूलो महत्त्व भनेको त नेपालमा यसको प्राकृतिक उपलब्धता सुनिश्चित गर्नु नै हो । निटेसी परिवारमा पर्ने निटम जातिको वनस्पतिका विश्वभर करिब ४० प्रजाति रहेको अध्ययनहरूले देखाएका छन् । जसमध्ये नेपालमा पाइने प्रजाति निटमोन्टेनम हो । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस महासन्धि), २०७३ को पक्ष राष्ट्र भएको कारण यसको कार्यान्वयनको लागि नेपालले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण ऐन २०७३ र नियमावली २०७६ ल्याएको छ । साइटिस महासन्धिमा रहेका तीन वटा अनुसूची मध्ये भोटे लहरा अनुसूची ३ मा पर्दछ ।
भोटे लहराको अहिलेको प्राकृतिक उपलब्धता भने केवल सङ्खुवासभा, तनहुँ र मकवानपुरमा मात्र रहेको कुरा पछिल्ला वनस्पतिक अन्वेषण तथा सर्वेक्षणबाट थाहा पाइएको छ । सबैभन्दा पछिल्लोपटक यसको प्राकृतिक उपलब्धता भनेको मकवानपुरमा रहेको छ । भोटे लहरा ढिलो बढ्ने सदाबहार वनस्पति हो । भाले र पोथी बिरूवा अलग–अलग हुने भएको कारण यिनीहरूमा परागसेचन हुन नसकेर पनि यो प्रजातिका नयाँ बिरूवाहरू विस्तार नभएको हुन सक्छ ।
चीन, भारत, म्यानमार, थाइल्याण्ड कम्बोडिया जस्ता मुलुकहरूमा पनि यो वनस्पति पाइन्छ। धेरै वर्ष पहिले मकवानपुर जिल्लाबाट सङ्कलन भए पनि लामो अवधिसम्म यस वनस्पतिको प्राकृतिक अवस्थामा फेला नपर्नुले यो वनस्पति नेपालबाटै हरायो कि भन्ने आशङ्का गरिएको थियो । कार्यालय प्रमुख पराजुलीले वनस्पति अनुसन्धान केन्द्र मकवानपुरले अहिले यसको प्रजनन विधिको अध्ययन कार्यलाईसमेत एक साथ अगाडि बढाउँदै लगेको जानकारी दिए ।
सेरेमोनियल प्लान्टेसन प्लट
उन्यु प्रजातिको काली निगुरोको कृत्रिम खेती (आर्टिफिसियल प्रोपोगेसन) प्रविधि हालसम्म नेपालमा अध्ययन भएका छैन तर वनस्पति अनुसन्धान केन्द्र मकवानपुरले आर्थिक बर्ष २०७७÷७८ मा कृत्रिम वातावरणमा ल्यावमा उपयुक्त तापक्रम, प्रकाश, तथा पानीको प्रबन्ध गरी काली निगुरोको विरूवा उमार्न सफल भएको छ । यसैगरी मेन्था, चिराइतो र धसिङ्ग्रेको पनि भेराइटीसम्बन्धी अध्ययन कार्य पनि सुरू गरिएको वैज्ञानिक अधिकृत चन्द्रकला ठाकुरले बताए ।
प्रतिक्रिया दिनुहोस्