हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रदेशलाई प्रविधिमैत्री बनाउने भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले दीगो विकासको अवधारणा अनुसार योजना निर्धारण गरिने बताए ।

प्रदेश प्रमुख शर्माले प्रदेश सरकारको भूमिका थप मजबुत बनाउन संघीय सरकार र स्थानीय सरकारसँगको समन्वयलाई प्रभावकारी बनाउने जनाए । आर्थिक नीति, सामाजिक न्यायको माध्यमबाट प्रदेश समृद्धिका योजना तर्जुमा गर्ने, प्रदेशको सन्तुलित विकासका लागि ठुला आयोजना छनौट गरी कार्यान्वयनमा ल्याइने सरकारको नीति तथा कार्यक्रम रहेको उनले बताए ।

बागमती सरकारले पुँजी निर्माण, उत्पादन र उत्पादकत्व वृद्धि रोजगारीका अवसर सिर्जनाका लागि लगानी केन्द्रित गर्ने नीति लिने भएको छ । योजना तथा कार्यक्रमको न्यूनतम लागत निर्धारण गरी सोभन्दा कमका आयोजनाहरु स्थानीय तहमा पठाइने नीति सरकारको छ । मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम, एक विद्यालय एक नर्स कार्यक्रम, एक प्रदेश निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल उत्पादन केन्द्र स्थापना गर्ने लक्ष्य पनि प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।