

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ‘चेली’ प्रोत्साहन कार्यक्रम अन्र्तगत ६ जनालाई नगद २० हजार सहित सम्मान गरेको छ । कैलाश गाउँपालिका कालिकाटारमा वाल बिवाह निरुत्साहित गर्न नगद सहित ‘चेली’ लाई सम्मान गरिएको हो ।
गाउँपालिकाले बार्षिक नीति तथा कार्यक्रम अनुसार कैलाश–६ संगिता ढुंगाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश–१० सरुया प्रजा, कैलाश–९ उर्मिला थिङ र कैलाश–२ लक्ष्मी मुक्तानलाई गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नगद सहित प्रशंसापत्र दिएर सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै पालिकाका उपाध्यक्ष ठकुरीले कार्यक्रमलाई बृहत रुपमा विस्तार गर्दै लैजाने बताए । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत अशोक बिष्टले वालविवाह अन्त्यका लागि पालिकाले विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिए ।
गाउँपालिका सामाजिक बिकास समिति संयोजक राजेन्द्र घिसिङले यो बर्ष ६ जनालाई सम्मान गरेजस्तै अर्काे बर्ष अझ धेरै चेली सम्मान गर्ने वातावरणका लागि आ–आफ्नो क्षेत्रबाट सबैले काम गर्नुपर्ने बताए । सम्मानित भएसँगै सरुया प्रजाले गाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रम मार्फत सम्मान गरेकोमा आफुलाई उत्साह मिलेको र सामाजिक समस्याको रुपमा रहेको वालविवाह, विद्यालय नजाने जस्ता समस्या समाधनमा थप उर्जा मिलेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्