

हेटौंडा । हेटौंडामा भएको खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । शनिबार बिहान हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले उपाधी जितेको हो ।
स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा एपीएफले आर्मीलाई क्रमशः २५–२०, १७–२५, २५–१७ र २९–२७ सेटले हराएको हो । जीतसँगै एपीएफले उपाधीसहित २ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता आर्मीले १ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी एपीएफका विजयी थापा घोषित भए । थापाले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट सेटर एपीएफका सुबास कुँवर, उत्कृष्ट स्पाइकर आर्मीका शरण सामरी, उत्कृष्ट डिफेन्डर आर्मीका इश्वर थापा, उत्कृष्ट ब्लकर आर्मीका सञ्जय चौधरी र उत्कृष्ट प्रशिक्षक एपीएफका पुष्पराज मल्ल घोषित भए । विधागत उत्कृष्टले नगद ५–५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्