

रत्ननगर, चितवन । चितवनको रत्ननगर नगरपालिका–१६ पिठूवामा रहेको पिठूवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड यान्त्रीकरणमार्फत दुग्धजन्य पदार्थको उत्पादन तथा बिक्रीमा अब्बल बन्दै गएको छ । एउटा मेसिन र तीन वटा फ्रिज बाट २०४९ साल चैत्र १३ गते स्थापना भएको सहकारीको अवस्था अहिले फेरिएकाे छ ।
दुग्ध उत्पादक सहकारीमा आधुनिक मेसिन र पक्की भवन बनेपछि सबैजसो दुग्धजन्य पदार्थ उत्पादन, प्याकेजिङ र वितरणसमेत गरिरहेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रिकृत आयोजना सहयोग इकाई हेटौंडाको ५० लाख रुपैयाँ अनुदान सहयोग पाएपछि दुग्ध सहकारीको अवस्थामा परिर्वतन आएको हो । आयोजनाले यहाँ संचालन गरेको एक करोडको कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदान अर्थात ५० लाख पाएपछि यो दुग्ध सहकारीले आवश्यक मेसिन खरिद तथा भवन निर्माण गर्न सकेको हो ।
आयोजनाले दुग्ध उत्पादक सहकारी संस्थालाई यान्त्रीकरणका लागि ५० प्रतिशत अनुदान दिने पत्रिकामा सूचना निकालेको थाहा पाएपछि सहकारीले निवेदन दिएको र मेसिनहरु पाएको पिठूवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका व्यवस्थापक गुणराज रेग्मीले बताए । आयोजना मार्फत अनुदानमा दुग्ध सहकारीले ५ हजार लिटरको दुग्ध स्टोरेज ट्याँकी, दूध चिस्याउन तीन हजार लिटरको ‘चिलिङ्ग भ्याट’, प्याकिङ मेसिन, ब्यास पास २ थान, होमो राइजन, कोल्ड स्टोर, क्लिनसेक्टर मेसिन, बटर चनर पाएको बताए । आयोजनाले ल्यावका साथैं १० लाखको भवन पनि निर्माण गरिदिएको छ ।
आयोजनाले दुध स्टोरका लागि विभिन्न सामाग्रीहरु प्रदान गरेपछि मिल्क होलिडे (दूध बिदा) को समस्या पनि हटेको व्यवस्थापकले बताए । ‘पहिले हामी संग मेसिन थिएन, मेसिन र उपकरण नहुँदा किसानले ल्याएको सबै दूध किन्न र डेरीमा राख्न सक्ने अवस्था थिएन’ उनले भने–‘आयोजनाले अनुदानमा मेसिन उपकरण दिएपछि अहिले ढुक्क भएको छ ।’ किसानले ल्याएका सबै दूध तीन दिनसम्म स्टोर गर्न सक्ने क्षमता छ, उनले थपे–‘किसानको मेहनत खेर जाँदैन ।’
दुग्ध सहकारीमा दैनिक करिब तीन हजार लिटर दूध जम्मा हुने गरेको छ । यान्त्रीकरण पश्चात यहाँको दूधबाट दही, दुध, खुवा, पनिर, नौनी घ्यू उत्पादन गर्ने गरिएको छ । यहाँको उत्पादन स्थानीय बजारमै खपत हुने गरेको छ । स्थानीय बजारमा दैनिक करिब ५ सय लिटर दही खपत हुने गरेको हो । यहाँको २५ सय लिटर दूघ पाथिभरा र हेटौंडा डेरीले समेत लाने गरेको दुग्ध सहकारीका व्यवस्थापन रेग्मीले जानकारी दिए ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका–१, ठिमुरामा चितवन मिल्क लिमिटेडमा आयोजनाले सामुहिक शितभण्डार (कोल्ड स्टोर) स्थापना गरिदिएको छ । २ सय मेक्ट्रिक्टन भण्डार क्षमताको सामुहिक शित भण्डार निर्माण गरिएको हो । यहाँ अहिले देशैभरबाट आएका बटर स्टोर गरिएको छ ।
संघीय कृषि तथा पशुपंक्षी मन्त्रालय मातहत रहेको आयोजनाले २०७४/०७५ देखि दूध र मासु उत्पादनलाई केन्द्रित गरी काम गरिरहेको छ । विश्व बैंकको ऋण अनुदानमा सञ्चालित आयोजनाले आव २०७९/०८० सम्म नेपालका ५ वटा प्रदेशका २८ जिल्लाका २८९ गाउँ तथा नगरपालिकाहरुमा काम गरेको छ ।
आयोजनामातहत चार वटा विकेन्द्रिकृत आयोजना सहयोग इकाईहरु रहेका छन् । जसमध्ये हेटौंडामा रहेको विकृन्द्रिकृत सहयोग ईकाइले बागमतीका ४ र मधेश प्रदेशका ३ वटा गरी ७ वटा जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएको ईकाई प्रमुख गौतमले बताए । उनका अनुसार हाल ईकाई मातहत ६९ वटा समूह सहकारीतर्फका उपआयोजनाहरु सञ्चालनमा छन् भने निजीतर्फ ३९ वटामा अनुदानका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्