हेटौंडा । हेटौंडा सामुदायिक आँखा अस्पतालले स्वास्थ्य बीमा बोर्डले बीमाबापतको रकम समयमा नपठाउँदा औषधि खरिदलगायत उपचारमा समस्या आएको जनाएको छ। अस्पतालमा आव २०७४/७५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि अस्पतालमा आउने विपन्न वर्गका आँखाका बिरामी लाभान्वित हुँदै आएका छन्।
बीमा बोर्डसँग स्वास्थ्य बीमाबापतको भुक्तानी माग गर्दा लामो समयसम्म भुक्तानी नगर्दा अस्पतालको दैनिक सेवा तथा बिरामीको उपचार एवं शल्यक्रियामा प्रयोग हुने औषधि तथा अन्य सामग्री खरिद गर्न रकम अभाव बेहोर्दै आएको छ। अस्पताल व्यवस्थापक सुधीर श्रेष्ठले बीमा बोर्डले बीमाबापतको रकम निकासामा गरेको ढिलाइका कारण अस्पतालका कर्मचारीको तलबको व्यवस्थापन गर्नसमेत समस्या भएको जानकारी दिए ।
उनले तिलगङ्गा आँखा प्रतिष्ठानको शाखाका रूपमा सञ्चालन भइरहेको बताउँदै बीमा बोर्डबाट समयमा बीमाबापतको रकम प्राप्त नहुँदा अस्पतालको दैनिक सेवा नै प्रभावित हुने अवस्थामा पुगेको बताए अस्पतालका अनुसार अस्पतालले गत फागुन १७ गतेसम्मको तीन करोड ६७ लाख १२ हजार १६९ रुपियाँ बोर्डबाट भुक्तानी प्राप्त गर्न बाँकी रहेको छ।
स्वास्थ्य बीमा बोर्डबाट पाउनु पर्ने रकम चैत मसान्तसम्म निकासा गर्न भन्दै पत्राचार गरेको अस्पतालले पछिल्लो पटक बीमा बोर्डबाट गत माघ १९ गते ५२ लाख ८७ हजार ४७५ रुपियाँ निकासा प्राप्त गरेको छ। अस्पताल व्यवस्थापक श्रेष्ठले भने, “गैरनाफामूलक अस्पतालका रूपमा सञ्चालन भई अस्पतालको सञ्चालन खर्च आफ्नै आम्दानीको स्रोतबाट जुटाउँदै आएका छौँ। अस्पतालमा हाल दैनिक करिब १५० जना स्वास्थ्य बीमा गरेका बिरामी आँखा जाँच गर्न आउने गरेका छन्।”
दैनिक बिरामी जाँच, औषधि र चस्मा गरी करिब ५० हजारदेखि एक लाख ५० हजार रुपियाँसम्म बीमा रकम दाबी गरिँदै आएको छ। अस्पताल प्रमुख डा. सुनील थकालीले अस्पतालमा सरकारी बजेट प्राप्त नहुने र अस्पतालको सञ्चालन खर्च आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए । उनले स्वास्थ्य बीमाबापतको रकम अस्पतालको आम्दानीको प्रमुख हिस्सा भएको बताउँदै बीमा बोर्डमा बीमा दाबी गर्दासमेत समयमा निकासा नभएकाले अस्पतालले दैनिक सेवा सञ्चालन खर्च अभावमा तिलगङ्गा आँखा प्रतिष्ठानसँग सहयोग रकम लिएर खर्च गर्नुपर्ने बाध्यता आएको जानकारी दिए । उनले भने “अस्पतालमा बिरामीको चाप बढेसँगै बिरामीका लागि सेवा विस्तार गर्न निर्धारण भएका काम पनि अधुरै रहेका छन्।” गाेरखा पत्रबाट साभार












प्रतिक्रिया दिनुहोस्