हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाभित्र बसाई सरी जानेले आगामी वर्षबाट घर उपहार पाउने भएका छन् । दूर्गम भेगबाट बसाई सरी सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाई सरी आउनेलाई घर उपहार दिने योजना गाउँपालिकाले बनाएको हो ।
‘अन्यत्रबाट गाउँपालिकाभित्र बसाई सरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाई सरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गरिनेछ ।’ शनिबारको गाउँसभामा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । घर कस्तो प्रकारको हुने र कति लागतको हुने भन्ने कुरा गाउँपालिकाले बनाउने कार्यविधिमा निर्भर हुनेछ ।
समुदायमा आधारित समूहरुको दीगो व्यवस्थापनमा एक घर एक धारा कार्यक्रमलाई थप बस्तीहरुमा विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाको बजारोन्मुख बस्तीहरु पलाँसे चैनपुर, राक्सिराङ, अठारे, चौकीटार र सिलिङ्गेमा व्यवस्थित बस्ती विकास र नक्सापाससहितको पक्की भवन निर्माण गर्न सहरी विकास तथा एकीकृत बस्ती विकास मापदण्ड कार्यान्वयन गरिने नीति पनि गाउँपालिकाले लिएको छ ।
दूर्गम वडाहरुमा विद्युतीकरण, काठेपोल विस्थापन कार्यलाई पनि प्राथमिकता दिइएको छ । सडक गुरुयोजना पुनरावलोकनमार्फत सडकको राइट अफ वे निर्धारण गर्दै स्थानीय सडक सञ्चालन प्रणालीलाई व्यवस्थित र नियमित गरी विभिन्न रुटमा चल्ने सार्वजनिक सवारी साधनको भाडा निर्धारण गर्न विशेष पहल गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिका केन्द्रमा स्थापित आधारभूत अस्पतललाई सुविधा सम्पन्न बनाई वडाहरुबाट अस्पतालसम्म निशुल्क बस सेवा सञ्चालन गरिने पनि योजना बनाइएको छ । स्थानीय रोजगार योजना तजुमा गरी बेरोजगार जनशक्तिको पहिचान, सीप विकास बिधि र संस्थागत सुदृढीकरणको लागि काम थाल्ने नीति पनि लिइएको छ ।

















प्रतिक्रिया दिनुहोस्