मुग्लिङ । नागढुंगा सडक खण्डमा सडक स्तरोन्नति कार्यका कारण तीन रात सवारी आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले जारी गर्दै चैत १७ देखि १९ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द रहने जनाएको हो।
सूचनाअनुसार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ घोप्टेभिरलगायत विभिन्न स्थानमा सडक स्तरोन्नतिको काम भइरहेकाले चैत १७ देखि १९ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द हुनेछ। उक्त अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने प्रशासनले जनाएको छ।
सडक निर्माणका क्रममा पटक–पटक सवारी आवागमन रोकिँदा यात्रुहरूलाई समस्या भएको अवस्थालाई ध्यानमा राख्दै निश्चित समय तोकेर सवारी सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्रशासनको भनाइ छ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनलाई भने सञ्चालन गर्न दिइनेछ। उनले यात्रु तथा सवारीचालकलाई वैकल्पिक समय र मार्गको व्यवस्था मिलाएर यात्रा गर्न आग्रह पनि गरेका छन्।












प्रतिक्रिया दिनुहोस्