हेटौँडा। किसानका कृषि उपज सहज रूपमा बिक्रीवितरण गर्न तथा सुरक्षित भण्डारणको सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको प्रादेशिक कृषि थोक बजार अलपत्र परेको छ । बागमती प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको साझेदारीमा हेटौँडा–११, थानाभ-याङमा निर्माण गरिएको कृषि थोक बजार निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि प्रयोगविहीन बनेको हो ।

कुल ३२ करोड १० लाख रुपियाँ लागतमा निर्माण भएको थोक बजार प्रदेश सरकारको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत साझेदारीमा निर्माण गरिएको हो । कृषि थोक बजारपरिसरभित्र पक्की सडक निर्माणका लागि कृषि विकास निर्देशनालयबाट थप ७७ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो ।

दुई बिघा चार धुर क्षेत्रफलमा फैलिएको बजारमा थोक बिक्री  लागि दुईतले भवनमा ४० वटा सटर, चार वटा कार्गो लिफ्ट र दुई वटा यात्रु लिफ्ट निर्माण गरिएको छ । खुद्रा बिक्रीका लागि छुट्टै भवनमा २३ वटा सटर तथा दुई वटा यात्रु लिफ्टको व्यवस्था गरिएको छ । साना किसानले आफ्ना उत्पादन आफैँ बिक्री गर्न सक्ने गरी टहरासमेत निर्माण गरिएको छ ।

त्यस्तै कृषि थोक बजारपरिसरमा २३२ वर्गमिटर क्षेत्रफलमा फैलिएको कोल्ड स्टोरेज निर्माण गरिएको छ, जहाँ पाँच सय मेट्रिक टन कृषि उपज सुरक्षित रूपमा भण्डारण गर्न सकिने क्षमता रहेको छ तर सञ्चालन कार्यविधि नबन्दा संरचना प्रयोगमा आउन सकेको छैन । स्थानीय किसानले बजार सञ्चालनमा ढिलाइ हुँदा आफूहरू अझै बिचौलियामार्फत कृषि उपज बिक्री गर्न बाध्य भएको बताएका छन् । कृषि उत्पादन भण्डारण गर्ने सुविधा नहुँदा मौसमी उत्पादन कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको किसानहरूको गुनासो छ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सञ्चालन कार्यविधि अन्तिम चरणमा पुगेको जनाएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले आगामी महिनाभित्र कृषि थोक बजार सञ्चालन कार्यविधि बनाइसक्ने जानकारी दिए।

हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले सञ्चालन कार्यविधि नबनेकै कारण कृषि थोक बजार सञ्चालनमा आउन नसकेको बताए। मन्त्रालयले मागेको सुझाव उपमहानगरपालिकाले उपलब्ध गराइसकेको उल्लेख गर्दै उनले सञ्चालन कार्यविधि प्राप्त भएलगत्तै सञ्चालनका लागि आफूहरू तयार रहेको जानकारी दिए ।

किसानका लागि निर्माण गरिएको भवनमा यसअघि प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालय राखिएको थियो । पछि जेनजी प्रदर्शनका क्रममा भवनमा क्षति पुगेपछि मन्त्रालय त्यहाँबाट सारिएको थियो । निर्वाचनका बेला मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत सञ्चालन गरिएको उक्त भवनमा अहिले नगर प्रहरी बसेको छ । प्रदेश सरकार अन्तर्गतका कृषि क्षेत्रका ठुला आयोजना निर्माण सम्पन्न भए पनि सञ्चालन कार्यविधि अभावमा प्रयोगविहीन हुने क्रम बढ्दै गएको छ ।

थोक बजार निर्माणका लागि हेटौँडा उपमहानगरले तत्कालीन समयमा थानाभ-याङस्थित राप्ती पुलनजिकैको जग्गामा रहेका ५८ वटा घरटहरा हटाएको थियो । कृषि थोक बजार निर्माण भएको एक वर्षपछि गत साउनमा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको थियो । किसानलक्षित पूर्वाधार निर्माण भए पनि लामो समय बित्दा पनि कृषि थोक बजार सञ्चालन कार्यविधिको अभावमा अलपत्र अवस्थामा रहेको छ ।

गाेरखापत्रबाट साभार