हेटौँडा। मत्स्य विकास केन्द्र कुलेखानी, मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को दस महिनाको अवधिमा डेढ मेट्रिकटनभन्दा बढी माछा बिक्री गरी तीन लाख ७८ हजार ६३८ रुपियाँ राजस्व सङ्कलन गरेको छ । केन्द्रले चालु आवमा दुई मेट्रिकटन माछा उत्पादन गर्ने लक्ष्य लिएकोमा बाँकी दुई महिनाभित्र लक्ष्यभन्दा बढी उत्पादन तथा बिक्री हुने अपेक्षा गरिएको केन्द्रका प्रमुख एवम् मत्स्य विकास अधिकृत भीमदत्त भट्टले जानकारी दिए।

केन्द्रले इन्द्रसरोवर तालमा तिहारी जाल तथा केज प्रणालीमार्फत माछा पालन गर्दै आएको छ । उत्पादित माछा साताको दुई दिन बिहीबार र शुक्रबार बिक्री गरिँदै आएको छ । हाल केन्द्रले सिल्भर, बिगहेड, कमन ग्रास, रहु र नैनी जातका माछा उत्पादन तथा बिक्री गर्दै आएको जनाएको छ । उत्पादित माछा अधिकांश स्थानीय स्तरमै खपत हुने गरेको छ ।

चालु आवमा केन्द्रले स्थानीय जातका माछा सङ्कलन गरी प्रयोगशालामा संरक्षण गर्ने, नदी तथा खोलानालामा फिस क्याच र बायोनिम्नोलोजिकल अध्ययन गर्ने, कुलेखानी रिजरभ्वायरमा जलिय स्रोतको अध्ययन गर्ने लगायतका कार्यक्रम सम्पन्न गरेको जनाएको छ । त्यसैगरी जलचर संरक्षण ऐन सम्बन्धी सचेतनामूलक अन्तरक्रिया, विश्व मत्स्य दिवसको अवसरमा सरोकारवालासँग छलफल तथा इन्द्रसरोवर तालमा सरसफाइ कार्यक्रम पनि सम्पन्न गरिएको केन्द्रले जनाएको छ ।

जलिय जैविक विविधता संरक्षणका लागि केन्द्रले कुलेखानी रिजरभ्वायरमा पहिलो चरणमा तीन लाख माछाका भुरा छाडिसकेको जनाएको छ । बाँकी भुरा छाड्ने कार्यक्रम पनि सञ्चालन हुने बताइएको छ । साथै माझी तथा बोटे समुदायको जीविकोपार्जन सुधारका लागि स्थानीय जातका माछाका भुरा वितरण, तालिम तथा सामग्री सहयोगका कार्यक्रम बाँकी रहेको कार्यालयले जनाएको छ । केज पद्धतिमा सहर जातको माछा पालन परीक्षणसमेत सुरु गरिएको केन्द्रले जनाएको छ । इन्द्रसरोवर तालको केजमा ६ हजार ६५० सहर माछाका भुरा परीक्षणका रूपमा पालन गर्न थालिएको प्रमुख भट्टले बताए ।