हेटौँडा । हेटौँडा उपमहानगरपालिका–५ स्थित सङ्घीय सरकारअन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्रको स्वामित्वमा रहेको अतिक्रमित जग्गा खाली गराइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र डोजरको सहयोगमा हेटौँडा–५ को क्याम्पाडाँडा क्षेत्रमा अतिक्रमण गरिएको करिब चार कठ्ठा जग्गा खाली गराइएको हो । सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेपछि शुक्रबार बिहानदेखि प्रहरी प्रशासनको सहयोगमा अनधिकृत संरचना हटाइएको हो ।
केन्द्रले कित्ता नम्बर ९६ को जग्गामा निर्माण गरिएका घर, टहरा, होटल तथा खाजाघरलगायतका संरचना हटाएको जनाएको छ । स्थानीय विष्णुप्रसाद दंगाल, धनबहादुर लामा, सावित्री बज्राचार्य (कुँवर), नवीन श्रेष्ठ, उदव चौलागाईं र कृष्णबहादुर पाख्रिनले सरकारी जग्गा अतिक्रमण गरी संरचना निर्माण गरेको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार करिब चार कठ्ठा क्षेत्रफलमा रहेका संरचना हटाइएको हो । उक्त जग्गा करिब ७१ बिघा १६ कट्ठा १६ धुर क्षेत्रफलमध्ये पर्छ । यसमध्ये नौ बिघा सात कट्ठा १२ धुर सरकारी जग्गा विभिन्न व्यक्ति तथा संस्थाद्वारा वर्षौंदेखि अतिक्रमणमा परेको थियो ।
सूचना अधिकारी बलराम आचार्यका अनुसार हालसम्म करिब १३ कट्ठा जग्गा खाली गराउन सफल भइसकेको छ । केन्द्रले बाँकी अतिक्रमित क्षेत्र पनि क्रमशः खाली गराइने जनाएको छ ।
केन्द्रका वरिष्ठ मत्स्य विकास अधिकृत सरोजकुमार यादवले खाली गरिएको जग्गामा तारबार गरी केरा, मकै, भटमास तथा नेपीयर, सुडान, बदामे, परा र ढैंचाजस्ता घाँस तथा बाली लगाउने योजना रहेको जानकारी दिए ।
यसैबीच, पिप्ले युवा क्लबले रङ्गशाला निर्माण गरेको क्षेत्र तथा स्वास्थ्य संस्थाले अतिक्रमण गरेको जग्गाको विषयमा पनि छिट्टै छलफल गरिने केन्द्रले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्