हेटौँडा । लोपोन्मुख तथा संरक्षित वन्यजन्तुको सूचीमा रहेको सालक पछिल्लो समय मकवानपुरका विभिन्न क्षेत्रमा बढी मात्रामा देखिन थालेको छ। रातिको समयमा आहारको खोजीमा निस्कने लजालु स्वभावको सालक कहिले घरआँगनमा, कहिले सडकमा त कहिले खेतबारीमा भेटिने गरेको छ।
मकवानपुरगढी गाउँपालिका–३ धमिलेमा जेठ १७ गते राति भेटिएको एक सालकलाई स्थानीयवासीले इलाका प्रहरी कार्यालय मकवानपुरगढीमा बुझाएका थिए। कार्यालयका प्रहरी निरीक्षक धर्मेश कुमार यादवले उक्त सालकलाई रानी सामुदायिक वन उपभोक्ता समूहका कार्यसमिति सदस्य केदारप्रसाद अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण गरिएको सालकलाई रानी सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको सालक संरक्षण केजमा सुरक्षित रूपमा छाडिएको छ। सालकलाई केजमा छाड्ने क्रममा हेटौँडा उपमहानगरपालिका–६ का वडा सदस्य विजय पौडेल, वन समूहका उपाध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, सदस्य केदारप्रसाद अधिकारी, लेखा संयोजक राजकुमार फुयाँल, सालकसम्बन्धी अनुसन्धानरत विद्यार्थी समिक विष्ट तथा कार्यालय सचिव भीमसेन पौडेलको उपस्थिति रहेको थियो।
समूहका अनुसार यसअघि पनि वैशाख २ गते र जेठ १० गते भेटिएका सालकहरूलाई संरक्षणका लागि सोही केजमा राखिएको थियो। शुक्रबार भेटिएको बच्चा सालकको तौल ३ किलो ६५० ग्राम रहेको जनाइएको छ।
रानी सामुदायिक वन उपभोक्ता समूहले विगत दुई दशकदेखि सालक संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। वन क्षेत्रभित्र सालकको सुरक्षित बासस्थान निर्माण, उद्धार तथा संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको समूहले सालक संरक्षणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्