हेटाैँडा । मकवानपुरको मनहरी गाउँपालिका– ६ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका– ६, कोलाघारीनिवासी ३९ वर्षीय मंगलबहादुर प्रजा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार साँझ करिब ५:१० बजे मनहरी– ६, प्रतापपुरनिवासी सुरेश मोक्तानको निर्माणाधीन नयाँ घरमा ढोका जडान गर्ने क्रममा उनी दुर्घटनामा परेका हुन् ।

प्रहरीका अनुसार प्रजा ढोकामा ड्रिल गर्ने क्रममा एक्कासि करेन्ट प्रवाह हुँदा गम्भीर घाइते भएका थिए । घाइते प्रजालाई उनकी श्रीमती रस्तिमाया प्रजाले तत्काल मनहरी अस्पताल पुर्‍याएकी थिइन् । मनहरी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौँडा अस्पताल रिफर गरिएको थियो ।

हेटौँडा अस्पतालमा उपचारकै क्रममा साँझ ६:५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतकको शव हेटौँडा अस्पतालमै राखिएको छ । घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी सुनाचुरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।