हेटाैँडा । मकवानपुर प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा तीन भारतीय नागरिकसहित एक नेपालीलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूले विभिन्न प्रलोभन देखाई सामाजिक सञ्जाल तथा म्यासेजिङ एपमार्फत अनलाइन ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा हेटौँडा उपमहानगरपालिका– १०, बसपार्कस्थित बाँस्तोला होटेलमा छापा मारेर भारतको बिहार राज्य, पटना घर भएका २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज तथा होटेल सञ्चालक ३७ वर्षीय दीपक बाँस्तोलालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार साउन ७ गते नियन्त्रणमा लिइएका उनीहरूको मोबाइल परीक्षण गर्दा टेलिग्राम, ह्वाट्सएपलगायतका एपमार्फत विभिन्न ग्रुप सञ्चालन गरी ठगी प्रयोजनका लागि रकमको कारोबार भएको प्रमाण फेला परेको छ।

प्रहरीले मकवानपुर जिल्ला अदालतबाट अनलाइन ठगीसम्बन्धी कसुरमा म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

उनीहरूले प्रयोग गरेका केही ह्वाट्सएप र टेलिग्राम आइडीमार्फत पनि ठगी गरेको आशंका गरिएको छ । त्यसैले ती आइडीमार्फत ठगिएका व्यक्ति वा पीडितहरूलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

प्रहरीका अनुसार उनीहरूले ‘लोन एन्ड फाइनान्स सर्भिसेज’ तथा ‘जी छिङ’ नामको ह्वाट्सएप आइडी तथा ‘ड्युकपे’ आइडी भएको टेलिग्राम प्रयोग गरेर विभिन्न व्यक्तिलाई आर्थिक प्रलोभन देखाई रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने आशंकामा डिजिटल उपकरणको प्राविधिक परीक्षण तथा वित्तीय कारोबारको विवरण विश्लेषण गरिरहेको जनाएको छ।