हेटाैँडा । नेपालको संविधान २०७२ जारी भएको ११ वर्ष पूरा भई १२औँ वर्ष प्रवेश गरेको अवसरमा बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस– २०८३ विभिन्न कार्यक्रमसहित मनाउने भएको छ ।
प्रदेशस्तरीय मूल समारोह समितिले असोज २ र ३ गते साँझ प्रदेशभर घर, कार्यालय तथा सार्वजनिक स्थलमा दीप प्रज्वलन गरी दिवस मनाउन सरकारी निकाय, स्थानीय तह, सार्वजनिक तथा शैक्षिक संस्था, निजी क्षेत्र, नागरिक समाज र सर्वसाधारणलाई आह्वान गरेको छ ।
मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा बसेको संविधान दिवस तथा राष्ट्रिय दिवस प्रदेश मूल समारोह समितिको बैठकले दुईदिने कार्यक्रम तय गरेको हो । समितिका अनुसार असोज २ गते शुक्रबार र ३ गते शनिबार प्रदेशका सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान तथा संघसंस्थाले आ–आफ्नो परिसर सरसफाइ गर्नेछन् । नगर क्षेत्रको विशेष सरसफाइको जिम्मेवारी प्रदेशका मन्त्रालय र मातहतका कार्यालयलाई दिइएको छ ।
दुवै दिन सरकारी निकाय, प्रतिष्ठान तथा संघसंस्थाका कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित ढाँचाका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखेर सजाउने तथा साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम छ । सर्वसाधारणलाई पनि दुवै दिन साँझ आ–आफ्नो घर तथा परिसरमा दीप प्रज्वलन गर्न मूल समारोह समितिले आह्वान गरेको छ । यस्तै, प्रदेश राजधानी हेटौँडाको बुद्धचोक र बसपार्कमा राष्ट्रिय झन्डा फहराउने कार्यक्रमसमेत तय गरिएको छ ।
संविधान दिवसका दिन असोज ३ गते शनिबार बिहान ८ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रांगणमा प्रदेशस्तरीय संविधान दिवस एवं राष्ट्रिय दिवस मूल समारोह आयोजना गरिने भएको छ । समारोहमा स्थानीय संस्कृति र वेशभूषा झल्कने झाँकी प्रदर्शन गरिने समितिले जनाएको छ ।
समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री किरण थापामगर, निवर्तमान मुख्यमन्त्री एवं प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ र प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल सहभागी हुने कार्यक्रम तय भएको छ ।
यसअघि संविधान दिवसको अवसरमा असोज १ गते बिहीबारदेखि नै विभिन्न कार्यक्रम सुरु हुनेछन् । स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले ‘संवैधानिक सर्वोच्चता र समृद्ध नेपाल निर्माणमा युवाको भूमिका’ विषयमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरिने भएको छ। प्रतियोगिताका विजेता तथा विद्यार्थीलाई असोज ३ गतेको मूल समारोहमा पुरस्कार प्रदान गरिनेछ ।












प्रतिक्रिया दिनुहोस्