हेटौँडा । मकवानपुरमा स्वास्थ्य क्षेत्रका सूचकमा क्रमिक सुधार हुँदै गएको पाइएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरले आयोजना गरेको आर्थिक वर्ष २०८२-८३ को जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रममा दशवटै स्थानीय तहका स्वास्थ्यसम्बन्धी नतिजाको विश्लेषण गर्दा स्वास्थ्य सेवाका विभिन्न सूचकमा सुधार देखिएको जानकारी दिइएको हो ।
जनस्वास्थ्य कार्यालयका अनुसार समीक्षा कार्यक्रममा स्थानीय तहअनुसार स्वास्थ्य सेवा प्रदायक निकाय, एम्बुलेन्सको अवस्था, सरकारी स्वास्थ्य संस्थाको विवरण र पूर्वाधारको अवस्थाको विश्लेषण गरिएको थियो । जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमको एकीकृत वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए । समीक्षामा कार्यालयबाट सञ्चालित प्रमुख कार्यक्रम तथा सङ्घीय सशर्त कार्यक्रमका उपलब्धि, समस्या र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो ।
कार्यालयले नसर्ने रोगको स्क्रिनिङ, जनस्वास्थ्य समन्वय समितिको नियमित बैठक, एकीकृत जनस्वास्थ्य शिविर, प्रसूति, फिस्टुला तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ लगायत कार्यक्रम सञ्चालन गरेको जनाएको छ । समीक्षामा आधारभूत स्वास्थ्य सेवालाई केन्द्रमा राख्दै जिल्लाका सबै नागरिकमा सहज र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउनुपर्नेमा जोड दिइएको थियो । स्थानीय तह, स्वास्थ्य संस्था र सम्बन्धित निकायबीच प्रभावकारी समन्वयबाट स्वास्थ्य सेवाको पहुँच र गुणस्तर थप सुधार गर्न सकिने सहभागीको भनाइ थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले एउटा स्थानीय तहले गरेका असल अभ्यास अर्को स्थानीय तहले पनि अनुसरण गर्नुपर्ने बताए । उनले स्थानीय तहबीच असल अभ्यास आदानप्रदानले स्वास्थ्य सेवा सुधारमा सहयोग पुग्ने उल्लेख गरे ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले किशोरी सुत्केरी हुने दर घट्न नसक्नुको कारण पहिचान गरी न्यूनीकरणका लागि स्थानीय तहले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले नसर्ने रोगको भारसमेत बढ्दै गएको उल्लेख गर्दै त्यसतर्फ स्वास्थ्य क्षेत्रको ध्यान जानुपर्ने बताए ।












प्रतिक्रिया दिनुहोस्