हेटौँडा । बागमती प्रदेशसभाले स्थापनाको ७ वर्ष पार गरेको छ। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा प्रदेश राजधानी हेटौँडामा सातौँ वार्षिकोत्सव मनाइएको छ।

प्रदेशसभाको सातौँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले प्रादेशिक संरचनाको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्ने बताए।

उनले प्रदेश संरचनाबारे हुने टीकाटिप्पणीलाई शब्दले भन्दा पनि कामले जवाफ दिनुपर्ने बताए। कार्य व्यवस्था परामर्श समिति, विषयगत समिति, प्रदेश सांसद् र मन्त्रिपरिषदको क्रियाशीलताले प्रदेशसभालाई थप प्रभावकारी बनाउने सकिने उनको भनाई छ।

प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको गरिमा कायम राख्न प्रदेश सरकार चनाखो हुनुपर्ने बताए। प्रदेशलाई बलियो बनाउन आवश्यक पर्ने कानूनहरूलाई निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

राजनीतिक चश्मा फुकाली जनहितका मुद्दाहरूमा आपसी मेलमिलाप र समझदारीको सन्देश जनतामा पुर्‍याउनसमेत उनले आग्रह गरे।

यसैगरी समारोहमा मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशबिना संघीयताको परिकल्पना गर्न नसकिने बताए। विरोधको लागि विरोध गर्नेहरुले मात्र प्रदेशमाथि प्रश्न उठाएको उनको आरोप थियो।

मुख्यमन्त्री लामाले प्रादेशिक संरचनाबाट मात्रै विकास हुन्छ भन्ने मान्यतालाई पुष्टि गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको दावी गरे। उनले विगतको सरकारका अधुरा योजनाहरु अगाडि बढाउने समेत बताए।

कार्यक्रममा प्रदेशका पूर्वमुख्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश संरचनामाथि विवाद गर्न आवश्यक नरहेको बताए। कामबाट नै प्रदेश सरकारको औचित्य पुष्टि भइसकेको उनले जिकिर गरे।

विकास निर्माण र सेवा प्रवाहको नेतृत्व प्रदेश संरचनाले गर्ने भएकोले सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गर्नुपर्ने उनको भनाई छ।

कार्यक्रममा प्रदेशसभामा नियमित उपस्थित जनाउने प्रदेशसभा सदस्यहरु उद्धव थापा, गोविन्द लम्साल, बालकुमारी विश्वकर्मा, मायाकुमारी कार्की र रामप्रसाद ढुंगनालाई सम्मान गरिएको थियो।

सभामुख भुवन पाठकको अध्यक्षतामा भएको कार्यक्रममा उपसभामुख अप्सरा चापागाई, पूर्वसभामुख सानुकुमार श्रेष्ठ, संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलगायत प्रदेश सरकारका मन्त्री र सांसद्हरुको उपस्थिति रहेको थियो।

प्रदेशसभा सचिवालयलाई आफ्नो कर्ममार्फत् योगदान पुर्‍याएको भन्दै सचिवालयका कर्मचारीहरुलाई नगद तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

कानून निर्माणमा अझै सुस्त 

२०७४ माघ १८ पहिलो बैठक बसेको बागमती प्रदेशभाको दोश्रो कार्यकालबाट प्रत्यक्ष ६६ र समानुपातिकतर्फबाट ४४ जना गरी ११० जना सांसद निर्वाचित भएका थिए। हाल प्रदेशमा ७० जना पुरुष र ४० जना महिला सांसद छन्।

प्रदेशसभामा नेतृत्व गर्ने दलमध्ये कांग्रेसका ३५, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

दोश्रो कार्यकालको २०७९ पुस १८ गते शपथ लिएर त्यही दिन पहिलो बैठकसमेत बसेको थियो। दोश्रो कार्यकालको हालसम्म ४ वटा अधिवेशन सम्पन्न भईसकेका छन्।

३७२ वटा बैठक बसेको प्रदेशसभाबाट ८२ वटा कानून निर्माण भएको छ भने १४ वटा अध्यादेश सभाबाट स्वीकृत भएका छन्।

बागमती प्रदेशसभाबाट प्रदेश सरकारी कामकाजको सम्बन्धमा बनेको विधेयक पारित भएसँगै बागमती प्रदेशमा नेवारी भाषा र तामाङ भाषा सरकारी कामकाजीको भाषाको रुपमा सूचीकृत भएका छन्।

हाल प्रदेशसभाबाट प्रदेश निजामती सेवा विधेयक, प्रदेश प्रहरी विधेयक र स्थानीय सेवाको गठन तथा सञ्चालनसम्बन्धी विधेयक बागमती प्रदेशबाट पारित भएको छ।