हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा “प्रथम बागमती खुला मिनी म्याराथन (दौड) प्रतियोगिता” आयोजना हुने भएको छ । फागुन १ गते शुक्रबार बिहान बागमती–८ शान्तिपुरस्थित फापरबारी चेकपोष्टबाट प्रतियोगिता सुरु हुने आयोजकले जनाएको छ ।

गाउँपालिकाको माघ २५ गतेको गाउँ कार्यपालिका बैठक तथा बागमती खेलकुद विकास समितिको निर्णयअनुसार खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

प्रतियोगितामा १६ वर्ष उमेर पूरा गरेका पुरुष धावकहरूले सहभागिता जनाउन सक्नेछन् । दौड बागमती–४ झुरझुरेस्थित बागमती गाउँपालिकाको कार्यालय गेटमा पुगेर समापन हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपैयाँ, द्वितीय हुनेलाई १५ हजार रुपैयाँ र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । साथै, सान्त्वना स्वरूप पाँच जना धावकलाई जनही दुई हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

विजेताहरूलाई नगद पुरस्कारसँगै ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले जानकारी दिए ।