हेटौँडा। पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा दुध बेचेर महिनाकै करिब डेढ करोड रुपियाँ भित्रिने गरेको छ । पालिकाभित्र दैनिक साढे छ हजार लिटर दुध सङ्कलन भई बिक्री हुँदै आएको र सोहीमार्फत मासिक त्यतिको रकम गाउँमै भित्रिने गरेको हो ।

“गाउँपालिकाभित्र दैनिक साढे छ हजार लिटर दुध सङ्कलन भइरहेको छ, दुध बेचेर मासिक पालिकामा डेढ करोड रुपियाँ भित्रिन्छ,” बागमती गाउँपालिका प्रवक्ता कमानसिं पाख्रिनले बताए।

दुध उत्पादन प्रवर्धनका लागि पालिकाले बिउपुँजीका रूपमा सात करोड रुपियाँ लगानी गरेको छ भने चिस्यान केन्द्र स्थापना गर्न झन्डै एक करोड रुपियाँ खर्च गरिएको छ । पालिकाले उपलब्ध गराएको बिउपुँजीबाट ७६१ जना कृषक लाभान्वित भएका छन् । आर्थिक वर्ष २०८०/८१ देखि गाईभैँसी खरिदका लागि प्रतिकिसान एक लाख रुपियाँ निब्र्याजी बिउपुँजी उपलब्ध गराइएको प्रवक्ता पाख्रिनले जानकारी दिए। उक्त रकम तीन वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

पालिकाले पशु बिमा कार्यक्रमसमेत सञ्चालन गरेको छ । किसानले पालेका पशु मरेमा राहत पाउने व्यवस्था मिलाइएको छ । उत्पादित दुधको बजारीकरणको जिम्मेवारी पनि पालिकाले नै लिएको छ । दुध बजारीकरणका लागि खरिपाटी डेरीसँग सम्झौता गरी प्रत्येक १५ दिनमा सहकारीमार्फत कृषकलाई भुक्तानी हुने व्यवस्था गरिएको छ । पालिका अन्तर्गतका ११ वटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत दुध सङ्कलन भइरहेको छ । प्रत्येक सहकारीमा चिस्यान केन्द्र जडान गरी कृषकले उत्पादन गरेको दुध व्यवस्थापन गरिएको छ ।

भोर्लेनी, फापरबारी र नमुना दुग्ध उत्पादक सहकारी संस्थामा सबैभन्दा बढी दुध सङ्कलन हुँदै आएको छ । विशेष गरी बागमती–६ स्थित फापरबारी दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक करिब एक हजार तीन सय लिटर दुध सङ्कलन गर्दै आएको छ ।

आव २०८०/८१ मा दैनिक दुई हजार सात सय लिटर दुध सङ्कलन हुने गरेकोमा हाल बढेर दैनिक छ हजार ६५० लिटर पुगेको छ । राईगाउँ, बागमती, गढन, झुरझुरे, भोर्लेनी, फापरबारी, पाथीभरा, समाज उत्थान, प्रगति, बेतिनी र नमुना दुग्ध उत्पादक सहकारी संस्थामार्फत दुध सङ्कलन हुँदै आएको छ ।दुधमा आत्मनिर्भर बन्दै गएको पालिकामा दुध तथा मासु उत्पादनका लागि राँगाभैँसीपालनसमेत विस्तार हुँदै गएको छ । केही किसानले दैनिक २० लिटरभन्दा बढी दुध बिक्री गरी आम्दानी गर्दै आएका छन् ।

गाेरखापत्रबाट साभार