हेटौँडा । बारीमा भेटिएको लोपोन्मुख सालकलाई हेटौँडा –६, चौघडामा रहेको रानी सामुदायिक वनमा छाडिएको छ ।

हेटौँडा–६ स्थित राजकुमार बास्तोलाको बारीमा खनिरहेको समयमा स्थानीय शोभा घिमिरेले देखि वन समूहलाई खवर गरेका थिए । करिव ६ केजीको उक्त कालो सालकलाई वन समूहका कार्यालय सचिव भीमसेन पौडेलले समूहद्वारा निर्मित सालक केजमा छाडिएको छ ।

संरक्षित सूचीमा रहेको सालकको संरक्षण, यसको फाइदा, कानूनी ब्यवस्था, जनचेतनमामुलक कार्यक्रम समूहले सञ्चालन गर्दै आएको छ । विद्यालय स्तरीय, निवन्ध, हाजिरजवाफ, वक्तृत्वकला, सचेतनामुलक होडिङ बोर्ड, उपभोक्तालाई तालिम, सरोकारवालहरु विच अन्तरक्रिया लगायतका काम पनि समूहले सञ्चालन गर्दै आएको छ ।
जिल्ला तथा जिल्ला बाहिर विभिन्न स्थानहरुमा भेटिएको सालकलाई रानी सामुदायिक वनलाई बुझाउने गरिएको छ ।

लोपोन्मुख सालकलाई रानी सामुदायिक वन उपभोक्ता समूहले २०६२ सालदेखि संरक्षण गर्दै आएको छ भने समूहको क्षेत्र भित्र करिव ३ दर्जन सालकको बसोवास छ ।