हेटाैँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले कार्यकाल बाँकी रहँदै पदबाट राजीनामा दिएका छन्।
भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाउँदै ‘परिवर्तित राजनीतिक परिस्थिति’लाई आफ्नो निर्णयको प्रमुख कारण बताएका छन्। उनी गत ०८१ जेठ २४ गते मन्त्रिपरिषद्को निर्णयअनुसार तीन वर्षका लागि अध्यक्षमा नियुक्त भएका थिए।
राजीनामापत्रमार्फत उनले उद्योग सञ्चालनका क्रममा भोगिएका चुनौतीहरूसमेत प्रस्तुत गरेका छन्। पुरानो प्रविधि, जीर्ण मेसिनरी र आर्थिक अभावबिच पनि उत्पादन प्रक्रिया निरन्तर राखिएको उल्लेख गर्दै उनले हाल क्लिंकर उत्पादन र बिक्री नियमित भइरहेको जानकारी गराएका छन्।
यद्यपि, उद्योगलाई प्रतिस्पर्धी बनाउन आवश्यक पर्ने वित्तीय व्यवस्थापनमा मन्त्रालयबाट अपेक्षित सहयोग नपाएको उनको गुनासो छ। पुँजीगत तथा चालू खर्च व्यवस्थापनका लागि पटकपटक पहल गर्दा पनि ठोस नीतिगत निर्णय हुन नसकेको उनले राजीनामापत्रमा उल्लेख गरेका छन्।












प्रतिक्रिया दिनुहोस्