हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टलले संघीयता कार्यान्वयनको सुरुवात सन्तोषजनक रहेको बताएका छन । बिहीवार हेटौंडामा भएको तहगत अधिकारको कार्यविस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संघीयता सँगै जनतामा अधिकार प्राप्ति र विकासको चेतना जागरण भएको स्पष्ट पारे ।

संघीयताले जनतालाई अधिकार माग गर्ने चेतना दिएको बताउँदै उनले संबिधानले दिएका तहगत अधिकार आउन बाँकी नै भएको कारण निराशा हुनुपर्ने अवस्था नरहेको उनको भनाई छ । संघीयता संगै जनतामा अधिकार प्राप्ति र विकासको चेतना जागरण भएको उनले बताए ।

कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रममा गाउँपालिका महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डेले प्रदेश र स्थानीयतह एक भएर संविधानको कार्यान्वयनमा जानुपर्नेमा जोड दिइन् । उनले सरकारलाई अब सिक्दै जाने छुट नभएको भन्दै संघीयताको मर्म र भावना अनुरुप काम गर्नुपर्ने बताइन् । जनताले तीनतहको सरकारको अनुभुती गर्न नसकेको कारण पनि अधिकार बाँडफाँडसंगै अक्षरस कार्यान्वयनमा तत्कालै जानुपर्नेमा उनले जोड दिइन् ।

त्यस्तै नगरपालिका महासंघ नेपालका अध्यक्ष भीमप्रसाद ढुंगानाले संघीयताले दिएको अधिकारको पुर्ण कार्यान्वयन हुँदा समृद्ध राज्य निर्माण हुने बताए । तीन तहको सरकार एकअर्कामा गुनासो गर्दै बस्दा त्यसको असर राज्यमा पर्ने भएकोले समन्वय गरेर तत्काल कार्यान्वयनमा लानुपर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्य सचिव घनश्याम उपाध्यायले सातै प्रदेशका सरोकारवाला बिचको छलफलले संघीयता कार्यान्वयनमा थपबल पुग्ने विश्वास लिए । कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घका पदाधिकारीहरूको सहभागिता रहेको छ । मुख्यमन्त्री कार्यालयका अनुसार छलफलपछि शुक्रवार साझा प्रतिवेदनसमेत अनुमोदन गर्ने कार्यक्रम रहेको छ ।