हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष उम्मेदवार नविन सिग्देलले वागमती प्रदेशको नमुना वडा बनाउने बताएका छन ।

अनिरुद्र खबर संग कुराकानी गर्दै अध्यक्षका उम्मेदवार सिग्देलले नेपालको राजधानी काठमाडौं, काठमाडौंको राजधानी हेटौंडा, हेटौंडाको राजधानी ४ नम्बर भएको टिप्पणी गरे । उनले ४ नम्बरको मुहार कस्तो हुन्छ ? प्रदेश राजधानीको मुहार पनि त्यस्तै हुने दावी गर्दै यस वडालाई नमुना वडा बनाउने योजना रहेको बताए ।

उनले वडालाई हिलो, धुलो, फोहरमैला मुक्त बनाउने प्रतिवद्धता जनाए । उनले जिते फोहरमैला व्यवस्थापन गरि सफा र हरियाली बनाउने, कवाडी र ग्यारेजहरुलाई यस वडाबाट व्यवस्थापन गरि अन्यत्र सार्ने, सुर्यचोकबाट दक्षिण तर्फ ८ नम्बर जोड्ने पक्की पुल निमार्ण गर्ने, घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण, वडा स्वास्थ्य केन्द्रमा ल्याव र निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए ।

उनले वडा कार्यालय मार्फत तिर्नुपर्ने कर अनलाइन मार्फत घरमै बसेर तिर्ने व्यवस्था मिलाउने, वडामा घटना दर्ताहरु अनलाइन मार्फत गर्ने, सिसिटिभी जडान, सार्वजनिक ठाउँमा वाइफाइ फ्रि, उज्यालो वडा, प्रत्येक घरको बेरोजगार युवा महिलालाई सीप ज्ञान प्रदान गरि व्यवसायी बन्न प्रत्सोहन गर्ने योजना छ ।

उनी जनप्रतिनिधि हुँदा कर्रा करिडोरको सुरुवात, कर्रा गर्दोइको बाटो स्तरीकरण गर्दै नगर विकास भित्र नमुना सडक, बजार क्षेत्रमा ख्वपे गल्ली पारिजात पथ, गरुडपथ, नगरविकास रोड, कमलडाडा सडक, भित्री बाटोमा समेत ढल निर्माण गरेको प्रत्यक्ष जनताले देखेको उनको दाबि छ । ६० प्रतिशत वडावासीलाई ढलको सेवा दिएको उनले दावि गरे ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सिग्देल निर्वाचित जनप्रतिनिधि हुन । उनले आफ्नो कार्यकालमा गरेको कामको आधारमा जनताले पुनः बिश्वासको मत दिने बिश्वास व्यक्त गरे ।