हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका सामुदायिक क्याम्पसहरूलाई एकआपसमा गाभेर (मर्जर) गर्नुपर्ने बताएका छन । “उच्च शिक्षामा चुनौतीः रोजगारी,स्थिरता र बीचैमा पढाई छोड्ने प्रवृत्तिलाई न्यूनीकरण“ सम्बन्धी शुक्रवारदेखि हेटौँडामा सुरु भएको राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै उनले सामुदायिक क्याम्पस पीडा र समस्यामा रहेको बताए ।
सामुदायिक क्याम्पसले ग्रामीण क्षेत्रमा उच्च शिक्षामा धेरै योगदान गरेको बताउँदै समय बदलिएसँगै समुदायमा रहेका सामुदायिक क्याम्पसहरू गाम्भुपर्नेमा जोड दिए । विद्यार्थीहरू शहर र विदेश केन्द्रित हुँदा क्याम्पसमा घट्दो विद्यार्थीका कारण शिक्षकलाई तलब खुवाउन समेत समस्या भइरहेको उनले बताउँदै ग्रामिण क्षेत्रमा आवासीय मोडेलमा एक वडा एक विद्यालयको अवधारणामा प्रदेश सरकार जान लागेको जानकारी दिए ।
माध्यामिक तहको शिक्षाको लागि स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढ्दै कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा हुनुपर्ने बताए । उनले नर्सिङ, इन्जिनियरिङ शिक्षा अहिलेको आवश्यकता रहेको औँल्याए । शिक्षा नितान्त सैद्धान्तिक मात्रै भयो, अब व्यवहारिक, प्राविधिक र जिवनउपयोगी शिक्षाको आवश्यकता छ, मुख्यमन्त्री जम्कट्टेलले भने । उच्च शिक्षा अध्ययन पश्चात व्यवहारिक र प्राविधिक शिक्षा नहुँदा बेरोजगार मात्रै उत्पादन भइरहेको र उनीहरु विदेशी जाने क्रम बढेकाले अब समाधान दिनेखाल्नेको शिक्षाको संरचना आवश्यक रहेकोमा उनले जोड दिए ।
पाठ्यक्रम पुरानै ढाँचाको रहेकाले अब पाठ्यक्रम र परीक्षा प्रणाली परिवर्तन आवश्यक रहेको औल्याउँदै परीक्षा प्रणालीलाई पूर्णरुपमा योग्यताक्रम (मेरिड) मा लैजानुपर्ने बताए । उनले प्राविधिक शिक्षामा रहेको कोटा प्रणालीलाई शिक्षामा सिण्डिकेटको संज्ञा दिर्दै सरकारले कोटा प्रणाली हटाउनुपर्नेमा जोड दिए ।
शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ बिषयका साथ बिद्यार्थी स्वदेशमै टिकाउनेगरी विश्वविद्यालय स्थापना हुनुपर्ने बताए । उनले विदेश जाने युवालाई रोक्ने शिक्षा आजको आवश्यकता रहेकाले सरकारले त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मुक्तान, खानेपानी, उर्जा तथा सिचाई मन्त्री एकालाल श्रेष्ठ, मध्यपश्चिम विश्वविद्यालयका उपकुल प्रा.डा. धु्रव कुमार गौतम, विज्ञ सल्लाहकार विश्वविद्यालय अनुदान आयोगका प्रा.डा. हृदयरत्न बज्रचार्य तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशी, हेटौँडा उपमहानगरपालिका मेयर मिना कुमारी लामा लगायतकाले शैक्षिक सुधार गर्न सबै लाग्नुपर्नेमा जोड दिए । उद्घाटन कार्यक्रम मकवानपुर बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अन्नत प्रसाद पौडेलको सभाध्यक्षतामा भएको थियो ।












प्रतिक्रिया दिनुहोस्