हेटौँडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्रकृतिको दोहनले जलवायुमा परिवर्तन आएको बताएका छन । आन्तरिक मामिला तथा कानून मन्त्रालय र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँको संयुक्त आयोजनामा भएका स्वयंसेवक व्यवस्थापन सूचना प्रणाली सम्बन्धि अभिमुखीकरण तथा तालिम कार्यक्रमलाई आइतबार हेटौँडामा सम्बोधन गर्दै उनले हिमालको हिउँ पग्लने, समुन्द्री सतह बढ्ने, अत्याधिक गर्मी हुने लगायतका समस्या थपिदै गएको प्रति चिन्ता व्यक्त गरे ।
विपद् जोखिमका हिसाबले नेपाल उच्च जोखिममा रहेको बताउँदै प्राकृतिक र मानवीय कारणले जलवायु परिवर्तन भइरहेको बताए । उनले भारतको उडिसाको उदाहरण दिर्दे गर्मी बढेर ५७ डिग्री सम्म पुगेको र नेपालकै धुलिखेलमा पनि गत वर्षको तुलनामा यसवर्ष अत्याधिक गर्मी बढेको अनुभव सुनाए । प्रकृतिको दोहन, विकसित मुलुकले उत्सर्जन गर्ने कार्वन लगायतका कारणले जलवायु परिवर्तनका साथै भूक्षय, मनसुनजन्य विपद्को सामना गर्नुपरेको धारणा राखे । ५० देखि ८० सम्मको दशकलाई स्मरण गर्दै विकासका नाममा बाटो बनाउने, डोजरे विकास गर्ने, भत्काउने लगायत विनाश मात्रै भएकाले अब प्रदेश सरकारले पुननिर्माण र बनाउने कामका लागि मात्रै बजेट बिनियोजन गर्ने स्पष्ट पारे ।
“कोशी प्रदेशबाट बिस्तारै बिस्तारैं बागमती प्रदेशमा मनसु्न प्रवेश गरिरहेको छ, मनसुनजन्य विपदबाट बच्न छलफल, कार्ययोजना बनाउने र स्वयंसेवक परिचालन गर्न हामी लागि परेका छौँ,”–मन्त्री श्रेष्ठले भने । मनसुनको पूर्व तयारी तीनै तहका सरकारले गरिरहेको जानकारी दिर्दै प्रतिकार्यका लागि स्वयम्सेवकलाई तालिम दिएर परिचालन गर्न जरुरी रहेको उनको तर्क छ ।
विपद् सुरक्षा संस्कृतिको निर्माण गर्नुपर्ने बताउँदै मन्त्री श्रेष्ठले घर, गाउँ, टोल र विद्यालय, विश्वविद्यालय स्तरमा विपद् शिक्षाको आवश्यकता औंल्याउनुभयो । राष्ट्रिय रूपमै विपद् सुरक्षा संस्कृति निर्माण नगरेसम्म विपद् व्यवस्थापन र न्यूनीकरण गर्न नसकिने उनको धारणा छ । विपद् व्यवस्थापन तथा नियन्त्रणमा रैथाने सीप र वैज्ञानिक प्रणालीको संयोजन गरेर काम गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले स्थानीय तहले वडा वडा सम्म विपद् जोखिम न्यूनीकरण गर्ने तयारीमा लाग्न सुझाव दिइन । विपद्बाट पाठ सिक्न जरुरी रहेको बताउँदै उनले विपद्का विषयमा आम नागरिकलाई पनि स्पष्टसँग बुझाउन जरुरी रहेकोमा जोड दिइन् । उनले बागमती प्रदेशको सबै पालिकाले दमकल पनि राख्नुपर्ने धारणा राखिन ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जीले बागमती प्रदेश स्तरमा स्वयंसेवक परिचालन, व्यवस्थापन र प्रदेशस्तरीय स्वयंसेवक ब्युरोको व्यवस्था सम्बन्धी र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कानुनी तथा नीतिगत व्यवस्थाका विषयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँका सह सचिव वसन्त अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्