हेटौँडा । मकवानपुरमा डेङ्गुको जोखिम बढेको छ । चालु आर्थिक वर्षको दुई सातामा १८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार साउन १६ गते बुधवारसम्म ८ पुरुष र १० महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेङ्गु सङ्क्रमित भेटिएका छन् । यहाँ पुरुष ५ र महिला ९ सहित १४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । मकवानपुरगढी गाउँपालिकामा २ पुरुष र १ महिलासहित तीनजना तथा बकैया गाउँपालिकामा एकजना पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । गत २४ घण्टामा हेटौँडामा एकजना डेङ्गु सङ्क्रमित थपिएका छन् ।
डेङ्गु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । बर्खा लागेसँगै लामखुट्टेले जमेका पानीमा फूल पार्ने गर्दछ । खासगरी वर्षाको पानी जम्ने टिनको भाँडा, पुरानो टायर, ड्रम, गमला र पानी ट्याङ्कीमा यसले फूल पार्ने गर्दछ । यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने गर्दछ । मांसपेशी र हाडजोर्नी दुख्ने, शरीरमा बिमिराहरू देखापर्ने लगायत लक्षण यसमा देखिन्छन् ।
गत आर्थिक बर्स २०८०–८१ मा ८९१ जना डेंगुबाट प्रभावित हुनुभएको थियो जसमध्ये ४५५ पुरुष र ४३६ महिला रहनुभएको छ । गत आवमा डेङ्गु सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको थियो ।












प्रतिक्रिया दिनुहोस्