हेटौँडा । अमेरिकाको भर्जिनियामा ममता काफ्ले भट्टको हत्यारालाई कडा सजायको माग गरिएको छ । श्री कृष्ण प्रणामी युवा परिषद् मकवानपुरले हेटौँडाको बुद्ध चोकमा ममताको रहस्यमय मृत्युको छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको हो । 

अमेरिकामा बसोबास गर्दै आएकी प्रणामी धर्मकी अनुयायी ममताको रहस्यमय मृत्यु भएपछि परिषद्ले “ममताका लागि न्याय“ भन्दै आइतवार साँझ हेटौँडाको बुद्ध चोकमा विरोध कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा बोल्दै परिषद्का अध्यक्ष सुजन तिमल्सिनाले दोषीमाथि कारबाहीको माग गरेका हुन । जिल्ला सचिव राजेश वाग्लेको संयोजनमा भएको कार्यक्रममा बाइजु राज सेवा समिति मकवानपुरका अध्यक्ष देवकी खतिवडाले लगायतकाले न्यायको माग गरेका हुन । 

ममताको हत्या भएको हुनसक्ने प्रहरीले आशका गरेको छ । हत्या आशंकामा प्रहरीले उनका पति नरेश भट्टलाई बिहीबार पक्राउ गरेको थियो । हत्या गरेर शव बेपत्ता पारेको अभियोगमा प्रहरीले नरेशलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ । भर्जिनियाको मनासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले अनुसन्धान अधिकारीहरूले निरन्तर छानबिन गरिरहेको बताएका छन् । तर, यस्तो अवस्थामा उनको मृत्यु हुनसक्ने प्रहरी प्रमुख मारियोको भनाइ छ ।

प्रहरीका अनुसार २८ वर्षीया ममता काफ्ले गत २८ जुलाईमा अन्तिमपटक देखिएका थिए । त्यसको भोलिपल्ट २९ जुलाईमा उनको अन्तिमपटक पति नरेशसँग सम्पर्क भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । नरेशले भने ३१ जुलाईमा अन्तिमपटक ममतालाई देखेको प्रहरीसमक्ष बयान दिएका छन् ।

अनुसन्धान अधिकारीहरूले ममता काम गर्ने स्थानमा सोधीखोजी गरेपछि नरेशले तीन दिनपछि अगस्ट ५ मा ’मिसिङ रिपोर्ट’ दर्ता गराएका थिए । छानबिनमा केही ’क्लु’ नपाएपछि प्रहरीले नरेश बस्ने घरमा छापा मारेको थियो । त्यसलगत्तै प्रहरीले हतकडी सहित नरेशलाई पक्रेर लगेको थियो । उनको एक वर्षीय छोरीलाई भने समाज सेवा विभागले जिम्मा लिएको छ ।