हेटाैँडा । मकवानपुर प्रहरीले मंगलबार हेटौँडाबाट झन्डै पाँच सय ग्रामबराबरको अवैध सुनसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५, रातोमाटेस्थित प्रहरी चेकपोस्टअगाडिबाट ४९० ग्राम ८८० मिलिग्राम अवैध सुनसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उक्त सुनको हालको बजार मूल्य ६७ लाख ३४ हजार पाँच सय ४४ रुपैयाँ रहेको छ। मकवानपुर प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार विशेष सूचनाको आधारमा वीरगन्जबाट हेटौँडा आउँदै गरेको बा. प्रदेश ०३–००१ज ६९६ नम्बरको यात्रुबाहक इभी माइक्रोलाई रोकेर जाँच गर्दा माइक्रोमा सवार भारतको विहार बस्ने ३४ वर्षका सुजित सर्राफको साथबाट उक्त परिणामको सुन बरामद भएको हो।

निज सर्राफको शरीर खानतलासी गर्दा निजले आफ्नो खुट्टाको पैतलाको भागमा कालो टेपले बेरी बिस्कुटको आकारको टुक्रा ४ थान, बिस्कुटको सानो टुक्रा एक थान र एक थान सिक्रीसमेत लुकाई उक्त परिणामको सुन ल्याएको प्रहरी निरीक्षक सापकोटाले बताए।

उनले निज सर्राफसँग उक्त सुनको बिलबिजक केही नभएकाले नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रियाअगाडि बढाएको जानकारी दिए।