हेटाैँडा । हेटाैँडा उपमहानगरपालिका- ९, मास्टरचोकस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
घटनास्थलमा फेला परेको मोबाइलको सिममार्फत मृतकको पहिचान खुल्न आएको प्रहरीले बताएको छ । मृतक रुपन्देहीको देवदह नगरपालिका– ८ का ३७ वर्षीय रामबहादुर बोहरा रहेको प्रहरीले जनाएको छ ।
जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०३.००१ ख २६५६ नम्बरको यात्रुवाहक बसले राति करिब ११ बजे पैदलयात्रु बोहरालाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका ३७ वर्षका बोहरालाई प्रहरी निरीक्षक किशोर आचार्यको कमान्डमा खटिएको प्रहरी टोलीले अचेत अवस्थामा उद्धार गरी उपचारका लागि हेटाैँडा अस्पताल पुर्याएको थियो ।
उपचारका क्रममा राति साढे ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घटनापछि बसचालक महोत्तरीको रामगोपालपुर नगरपालिका– ६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बसमा रहेका यात्रुहरूलाई अर्को बसमा गन्तव्यतर्फ पठाइएको र बस तथा चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्