हेटौँडा । मकवानपुरका दश स्थानीय तहमध्ये हेटौँडा उपमहानगरपालिकाका युवाहरु लागुऔषध दुव्र्यसनको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लामा रहेका कुल लागूऔषध प्रयोगकर्तामध्ये ५९.०४ प्रतिशत हेटौँडा उपमहानगरपालिकामै रहेका छन् । हेटौँडासँगै थाहा नगरपालिका, कैलाश, इन्द्रसरोवर, मकवानपुरगढी, बकैया, मनहरी र राक्सिराङ गाउँपालिकामा पनि लागूऔषध प्रयोगकर्ताको सङ्ख्या उल्लेख्य रहेको प्रहरीको तथ्याङ्क छ ।

१५ देखि २५ वर्ष उमेर समूहका ५१ प्रतिशत, २६ देखि ३५ वर्ष उमेर समूहका २९ प्रतिशत र ३६ वर्षभन्दा माथि उमेर समूहका २० प्रतिशत लागूऔषध दुव्र्यसन तथा कारोबारमा संलग्न रहेको तथ्याङ्क छ । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म हेटौँडा उपमहानगरपालिकामा लागूऔषध दुव्र्यसन तथा कारोबारसम्बन्धी मुद्दामा १ सय ३० जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ११३ जना पुरुष, १२ जना महिला, ३ जना बालक र २ जना तेस्रो लिङ्गी रहेका छन् । उपमहानगरपालिकाका अधिकांश वडामा लागूऔषध दुव्र्यसनी तथा कारोबारी सक्रिय रहेको प्रहरीको भनाइ छ ।

हेटौँडाका १९ वडामध्ये वडा नं. ४, १०, १२, १३ र १५ मा लागूऔषध दुव्र्यसनी र कारोबारीको सङ्ख्या बढी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको लागूऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै प्रवक्ता बोगटीले लागूऔषध दुव्र्यसनका कारण हेटौँडाका युवाहरु उच्च जोखिममा परेको तथ्याङ्क प्रस्तुत गरे ।

लागूऔषध मुद्दामा मकवानपुरका २३९ जना कैदीबन्दी रहेका छन् । तीमध्ये सबैभन्दा धेरै १०३ जना हेटौँडा उपमहानगरपालिकाका छन् भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाका एक जना मात्रै रहेका छन् । मनहरी गाउँपालिका ४१, कैलाश २७, राक्सिराङ २५, थाहा नगरपालिका १४, बकैया गाउँपालिका १२, मकवानपुरगढी ७, भिमफेदी ५ र बागमती गाउँपालिकाका ४ जना लागूऔषध मुद्दाका कैदीबन्दी भिमफेदी कारागारमा रहेका छन् ।

यता हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामाले लागूऔषध दुव्र्यसनका कारण हेटौँडामा ठूलो चुनौती थपिँदै गएकोप्रति चिन्ता व्यक्त गरिन् । उनले लागूऔषधको नियन्त्रण तथा न्यूनीकरणका लागि राज्यका सबै निकायसँगै समाजका सबै क्षेत्रबाट संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिइन् ।

हेटौँडामा सञ्चालनमा रहेका पुनस्र्थापना केन्द्रहरुमा १६० जना लागूऔषध प्रयोगकर्ताहरु उपचाररत रहेका छन् । सियान पुनस्र्थापना केन्द्रमा ५७, सियान महिला पुनस्र्थापना केन्द्रमा २८, मकवानपुर रिकभरिङ समूहमा ४३, ब्रिज अफ होपमा ८, राइजिङ नेपालमा ८, माया नेपालमा ७ र साहारा समूहमा ९ जना लागूऔषध प्रयोगकर्ता उपचारको क्रममा रहेका छन् ।

सबैभन्दा बढी बेरोजगार युवाहरु लागूऔषध प्रयोगमा संलग्न रहेको देखिएको छ । प्रहरीका अनुसार ३९.०७ प्रतिशत बेरोजगार, १५.९ प्रतिशत व्यापार, १५.६ प्रतिशत दैनिक ज्यालादारी, ११.७ प्रतिशत नोकरी, ८.७ प्रतिशत अध्ययन, ३ प्रतिशत कृषि र १७.१ प्रतिशत अन्य पेशामा आबद्ध व्यक्ति लागूऔषध प्रयोगकर्ता रहेका छन् । मकवानपुरको भिमफेदी कारागारमा रहेका ९७६ कैदीबन्दीमध्ये ३८७ जना अर्थात् ३९.६ प्रतिशत लागूऔषध मुद्दाका कैदीबन्दी रहेका छन् ।

त्यस्तै चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म लागूऔषध मुद्दामा १४८ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये १२९ पुरुष, १२ महिला, ३ बालक, २ ज्येष्ठ नागरिक र २ तेस्रो लिङ्गी रहेका छन् । तीमध्ये ८२ जना कारोबारी र ६६ जना सेवनकर्ता रहेको प्रहरीले जनाएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले लागूऔषधका कारण हेटौँडाको अवस्था दिनप्रतिदिन भयावह बन्दै गएको बताउँदै यसको नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय सरकार दुवै सक्रिय हुनुपर्ने धारणा व्यक्त गरे । लागूऔषध दुव्र्यसनका कारण आपराधिक घटनासमेत बढ्दै गएको उनको भनाइ थियो । साथै, हेटौँडा लागूऔषध ओसारपसारको ट्रान्जिट पोइन्ट बन्दै गएकोतर्फ समेत उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

मकवानपुर प्रहरीले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म १ हजार ६ सय ३३ केजी गाँजा, साढे २३ केजी अफिम र १८० ग्राम खैरो हिरोइन बरामद गरेको छ । यसका साथै १२ हजार ३ सय ३८ एम्पुल, ४० बोतल कोरेक्स र २८ हजार ५ सय ४१ क्याप्सुल तथा ट्याब्लेट बरामद गरिएको प्रहरीको तथ्याङ्क छ ।