हेटौँडा । संघ, प्रदेश र स्थानीय तहका तीन वटै सरकारको प्राथमिकतामा अटिजम भएका बालबालिकाको समस्या नपरेको भन्दै सरोकारवालाले गुनासो गरेका छन् । विश्व अटिजम जनचेतना दिवस २०८२ को अवसरमा बिहीबार सेन्टर फर अटिजम हेटौँडाले आयोजना गरेको कार्यक्रममा अभिभावकहरूले अटिजमको विषयलाई तीन तहका सरकारले बेवास्ता गरेको बताएका हुन् ।

बालबालिकामा मस्तिष्कसँग सम्बन्धित विकासात्मक अवस्था मानिने अटिजमबारे अभिभावकहरू खुलेर बोल्न थालेपछि मकवानपुरमा पनि यसको समस्या बाहिर आउन थालेको छ । हेटौँडा कमानेका बोलबहादुर कार्कीले आफ्नो सन्तानमा फरक व्यवहार देखिएपछि परीक्षण गराउँदा अटिजम भएको थाहा पाएको बताए । उनले अटिजमबारे जनचेतना फैलाउने र प्राथमिकतामा राखेर कार्यक्रम ल्याउन तीनै तहका सरकार चुकेको गुनासो गरे ।

यस्तै, अनिसा भट्टराईले विद्यालय तहमा अटिजमसम्बन्धी जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताइन् । शिक्षक–शिक्षिकालाई विद्यार्थीको वास्तविक अवस्था थाहा नहुँदा फरक व्यवहारलाई बुझ्न समस्या हुने गरेको उनको भनाइ छ ।

अस्मिता कालिकाले पनि आफ्नो सन्तानमा बोलाउँदा प्रतिक्रिया नदिने, एक्लै बस्न रुचाउने जस्ता लक्षण देखिएपछि परीक्षण गर्दा अटिजम भएको पुष्टि भएको जानकारी दिइन् । पछिल्लो समय अटिजमसम्बन्धी सचेतना बढ्दै गएपछि अटिजम भएका बालबालिकालाई छुट्टै राखेर पढाउन थालिएको छ । सेन्टर फर अटिजम हेटौँडाका अध्यक्ष हरिकृष्ण मैनालीका अनुसार हाल उपमहानगरपालिका क्षेत्रका ३२ जना बालबालिका उक्त केन्द्रमा अध्ययनरत छन् । अभिभावकले बालबालिकाको अवस्था नबुझ्दा समस्या थपिने उनको भनाइ छ ।

अटिजम भएका बालबालिकामा आँखा नजुधाउने, एक्लै बस्न मन पराउने, अरूसँग घुलमिल हुन नचाहने, बोलेर अभिव्यक्त गर्न नसक्ने जस्ता लक्षण देखिन्छन् । उनीहरूलाई विशेष हेरचाहसँगै स्पिच थेरापी, अकुपेसनल थेरापी, मनोपरामर्श र बालरोग विशेषज्ञको नियमित सेवा आवश्यक पर्ने सेन्टरकी फिजियोथेरापिस्ट गृस्मा मैनालीले बताइन् ।

जिनमा हुने परिवर्तन, गर्भावस्थामा असावधानीपूर्वक औषधि सेवन, प्रसवका क्रममा शिशुलाई हुने आघात तथा जन्मिँदा अक्सिजनको कमी जस्ता कारणले अटिजम हुन सक्ने चिकित्सकहरूको भनाइ छ ।

राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका सदस्य बद्री बिक्रम थापाले अटिजमको समस्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले अटिजम भएका बालबालिकाका लागि सरकारले सहजिकरण गर्न सरकारलाई सुझाव समेत दिए । राष्ट्रिय जनगणना–२०७८ अनुसार बागमती प्रदेशका १३ जिल्लामा एक हजार २५३ जनामा अटिजम रहेको छ । प्रदेशमा सबैभन्दा बढी काठमाडौँमा ४९५ र चितवनमा ११३ जना रहेका छन् । मकवानपुरमा ७७ जना अटिजम भएका व्यक्तिको तथ्याङ्क छ ।

जनगणना अनुसार नेपालभर चार हजार ८८६ जनामा अटिजम रहेको छ, जसमा दुई हजार ६२८ महिला रहेका छन् । भौगोलिक रूपमा हिमालमा ३२८, पहाडमा दुई हजार २२९ र मधेसमा दुई हजार २२९ जनामा अटिजम देखिएको छ ।