हेटौँडा। मकवानपुरगढी गाउँपालिका–४, कालीखोलास्थित सिर्जनशील समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ।

वार्षिकोत्सवको अवसरमा संस्थाले फुटसल प्रतियोगिता, बाल बचतकर्ताहरूका लागि चकलेट रेस तथा बेलुन फुटाउने प्रतियोगिता सञ्चालन गरेको थियो। कार्यक्रमका विभिन्न विधाका विजेताहरूलाई पुरस्कारसमेत वितरण गरिएको थियो।

संस्थाका संस्थापक अध्यक्ष हरिशरण पुडासैनीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष कृष्ण बिडारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जागरण सहकारीका अध्यक्ष शत्रुघ्न दुलाल, भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलप्रसाद चौलागाईं, मकवानपुरगढी बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाकी व्यवस्थापक विमला न्यौपानेले आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्मको वित्तीय अवस्था प्रस्तुत गर्दै संस्थाको शेयर पुँजी ५९ लाख रुपैयाँ, निक्षेप ६ करोड रुपैयाँ, ऋण लगानी ६ करोड रुपैयाँ, जगेडा कोष ६२ लाख रुपैयाँ तथा अन्य कोषमा ११ लाख ५९ हजार रुपैयाँ रहेको जानकारी दिइन्।

हाल संस्थामा ९ सय ७४ जना शेयर सदस्य आबद्ध रहेको र सहकारीले स्थानीयस्तरमा बचत तथा ऋण सेवामार्फत आर्थिक गतिविधि प्रवर्द्धन गर्दै आएको जनाएको छ।

भीमसेन पौडेल
थप जानकारी