हेटाैँडा । अविरल वर्षा र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–काठमाडौं जोड्ने सडकमा दुई रात सवारी आवागमनमा रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी सूचनाअनुसार असार १६ गते बेलुका ५ बजेदेखि असार १७ गते बिहान ५ बजेसम्म तथा असार १७ गते बेलुका ५ बजेदेखि असार १८ गते बिहान ५ बजेसम्म सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको हो।

प्रशासनले अत्यावश्यक कामबाहेक सो अवधिमा यात्रा नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ। मनसुन सक्रिय भएसँगै लगातार भारी वर्षाको सम्भावना रहेकाले सम्भावित पहिरो, सडक अवरोध तथा अन्य प्राकृतिक विपद्का कारण हुन सक्ने मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए।

उनले ताल, नदी, खोला तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुंगा चलाउने तथा नदी तर्नेजस्ता जोखिमपूर्ण गतिविधि नगर्न पनि अनुरोध गरेका छन्। साथै पहिरो, बाढी र डुबानको जोखिम रहेका क्षेत्र, नदीकिनार तथा भिरालो स्थानमा अनावश्यक आवतजावत नगर्न प्रशासनले सचेत गराएको छ।

अधिकारीले वर्षा र जोखिमको अवस्था हेरेर सुरक्षा निकायले जिल्लाभित्रका अन्य सडकमा समेत आवश्यक परे निश्चित अवधिका लागि आवागमन रोक्न सक्ने जानकारी दिए। यस्तो अवस्थामा सुरक्षा निकायसँग समन्वय र सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको प्रजिअ अधिकारीले बताए।

गृह मन्त्रालय तथा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त भारी वर्षासम्बन्धी चेतावनीका आधारमा उच्च सतर्कता अपनाउन निर्देशन जारी गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीको भनाइ छ।