हेटौँडा । ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) ले मनहरी गाउँपालिकामा सञ्चालन गर्दै आएको ‘स्टप गर्ल ट्राफिकिङ र ‘इन अनर अफ अमर कार्यक्रममार्फत बालिकाको शिक्षा, बालअधिकार संरक्षण तथा बालविवाह न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।

मनहरी गाउँपालिकामा आयोजित कार्यक्रम समीक्षा बैठकमा संस्थाले हालसम्मको प्रगति, चालु आर्थिक वर्षका उपलब्धि तथा आगामी वर्षका योजना सार्वजनिक गरेको हो । संस्थाले सन् २०२२ देखि मनहरी गाउँपालिकाका वडा नं. १, २, ३, ५, ७ र ९ मा कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल ९ वटा विद्यालयका २६३ जना छात्रा प्रत्यक्ष रूपमा कार्यक्रममा आबद्ध छन् भने एलुम्नाइ सञ्जाल, एड्भोकेसी समूह, अतिरिक्त क्रियाकलाप, शुक्रबार विशेष कक्षा तथा घरभेट कार्यक्रमसमेत सञ्चालन भइरहेका छन् ।

संस्थाका अनुसार कार्यक्रममार्फत बालिकाको शिक्षामा पहुँच विस्तार, बालविवाह तथा लैङ्गिक हिंसा न्यूनीकरण, बालश्रम र मानव बेचबिखनविरुद्ध सचेतना अभिवृद्धि तथा असुरक्षित बसाइँसराइका जोखिमबारे समुदायस्तरमा अभियान सञ्चालन गरिएको छ । छात्रालाई शैक्षिक सामग्री, नगद सहयोग, अतिरिक्त कक्षा, अभिभावक सहयोग र उच्च शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराइएको छ ।

चालु आर्थिक वर्षमा संस्थाले २ सय ९६ जनालाई शैक्षिक सामग्री वितरण गरेको छ भने ९ जना सहयोगी सहजकर्तामार्फत शुक्रबारे कक्षासमेत सञ्चालन भइरहेको छ । पाँच एलुम्नाइ समूह परिचालन, आठ विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन तथा कक्षा ११ र १२ का ४० जना विद्यार्थीलाई उच्च शिक्षामा सहयोग गरेको संस्थाका जिल्ला कार्यक्रम संयोजक तजबिज कोइरालाले जानकारी दिए । एसजिटी कार्यक्रमतर्फ २८ लाख ५४ हजार र अमर कार्यक्रमतर्फ १६ लाख ३ हजार खर्च भएको उनले बताए ।

आगामी आर्थिक वर्षमा कार्यक्रमलाई निरन्तरता दिँदै कक्षा १ देखि १० सम्मका २२३ जना छात्रा तथा कक्षा १२ का ३० जना विद्यार्थीलाई सहयोग गर्ने लक्ष्य लिइएको छ । आगामी आर्थिक वर्ष २०८३-०८४ मा कुल २५३ जना विद्यार्थीलाई प्रत्यक्ष लाभ पुर्याउने योजना रहेको संस्थाले जनाएको छ । संस्थाले आगामी आर्थिक वर्षका लागि कुल ४२ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

रेष्टका जिल्ला कार्यक्रम संयोजक कोइरालाले बालिकाको शिक्षा सुरक्षित भए मात्रै समाजमा दिगो परिवर्तन सम्भव हुने बताए । छात्रालाई आर्थिक सहयोगमा मात्र सीमित नभइर्ए बालविवाह, लैङ्गिक हिंसा र मानव बेचबिखनविरुद्ध समुदायमै सचेतना अभिवृद्धि गर्दै बालिकालाई आत्मनिर्भर र नेतृत्वदायी नागरिकका रूपमा विकास गर्ने आफूहरुको लक्ष्य रहेको उनले बताए ।

रेष्टले आफ्नो दीर्घकालीन उद्देश्य जोखिममा रहेका बालबालिकाको शिक्षा र स्वास्थ्यमा पहुँच सुनिश्चित गर्नु, समुदायस्तरमा क्षमता अभिवृद्धि गर्नु तथा लैङ्गिक विभेद र हिंसा अन्त्यका लागि दिगो सामाजिक वातावरण निर्माण गर्नु रहेको जनाएको छ ।