हेटाैँडा । हेटौँडामा नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा स्थापना गरिएको प्रयोगशाला भदौ २२ देखि सञ्चालनमा आएको हो ।

छिटो र प्रमाणमुखी अनुसन्धान गर्न स्थापना गरिएको यो विधिविज्ञान प्रयोगशाला मुलुककै चौथो हो । यसअघि काठमाडौं, धरान र नेपालगन्जमा यस्ता प्रयोगशाला स्थापना भइसकेका छन् ।

करिब १२ करोड रुपैयाँ लागतमा स्थापना गरिएको प्रयोगशालाले मुलुकमा बरामद हुने लागुऔषधमध्ये ४० प्रतिशत नमुनाको परीक्षण गर्ने प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले बताए । ‘हेटौंडामा विधिविज्ञान प्रयोगशाला स्थापना भएपछि न्यायप्राप्तिको प्रक्रिया छिटो हुनेछ,’ उनले भने ।

लागुऔषध, जबर्जस्तीकरणी र डीएनएको प्रतिवेदन ढिलो हुने कारण न्यायप्राप्ति पनि ढिलो हुने गरेको थियो । विधिविज्ञान प्रयोगशालाबाट प्रतिवेदन नआएका कारण अदालतका फैसलामा ढिलाइ हुने गरेको जिल्ला अदालत मकवानपुरका एक अधिकृतले बताए ।

हेटौंडास्थित प्रयोगशालामा बागमती प्रदेशका चितवन, मकवानपुर र सिन्धुली तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाहीका नमुना परीक्षण गरिनेछ । नमुना परीक्षणका लागि बरामद भएका वस्तु वा पक्राउ परेकाहरूको जिल्लाबाट तीन दिनभित्र नमुना पठाइसक्नुपर्ने र प्रयोगशालाले १० दिनभित्र सम्बन्धित जिल्लामा प्रतिवेदन पठाउने कार्यतालिका रहेको प्रयोगशालाका प्रमुख मोहनसिंह धामीले बताए ।

उक्त प्रयोगशालामा रसायन तथा लागुऔषध, जबर्जस्तीकरणीअन्तर्गत बायोलोजी, सिरोलोजी र डीएनएका नमुना परीक्षण गरिने उनले बताए । भदौ २२ गते स्थापना गरेर सञ्चालनमा ल्याइएको प्रयोगशालाबाट नमुना परीक्षणसमेत सुरु भइसकेको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

हेटौंडामै नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला स्थापना भएर सञ्चालनमा आएकाले लागुऔषध र जबर्जस्तीकरणीका मुद्दा अदालतबाट छिटो फैसला हुने अधिवक्ता मदन दाहालले बताए । ‘विधिविज्ञान प्रयोगशालाबाट समयमा प्रतिवेदन नआउँदा मुद्दाको फैसला पर धकेलिने गरेको थियो,’ उनले भने ।