हेटाैँडा। हेटौँडामा ठगीसम्बन्धी कसुरमा संलग्न रहेको आशंकामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका– ८ का १९ वर्षीय अजयकुमार यादव र १९ वर्षीय पवनकुमार दास तथा बौधिमाई नगरपालिका– ६ का २१ वर्षीय रोशन राय यादव छन्।
प्रहरीले उनीहरू बस्दै आएको हेटौँडा उपमहानगरपालिका– ५, सानोपोखरास्थित भाडाको कोठामा खानतलासी गर्दा विभिन्न व्यक्तिका नागरिकता प्रमाणपत्रका ५२ प्रतिलिपि, ४३ सिमकार्ड र चार चेकबुक बरामद गरेको छ। रामबहादुर पोखरेलको घरमा कोठा भाडामा लिएर बस्दै आएका व्यक्तिहरूले आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार अपराह्न करिब ४ बजे कोठामा खानतलासी गरेको जनाएको छ। खानतलासीका क्रममा उनीहरूको साथबाट विभिन्न व्यक्तिका नाममा जारी नागरिकता प्रमाणपत्रका प्रतिलिपि र एनसेलका सिमकार्ड फेला परेका हु्न्। बरामद सिमकार्डमध्ये २२ वटा प्रयोग भइसकेका र २१ वटा सिलप्याक अवस्थामा रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।
बरामद सामग्री राख्नुको प्रयोजनबारे सोधपुछ गर्दा उनीहरूले सिमकार्डको प्रयोग र प्राप्तिको स्रोत खुलाउन नसकेको प्रवक्ता काफ्लेको भनाइ छ। उनीहरू ठगीमा संलग्न रहेको हुन सक्ने आशंकामा तीनैजनाविरुद्ध ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता काफ्लेले बताए।













प्रतिक्रिया दिनुहोस्