हेटौँडा । हेटौँडा–१७ चुच्चेखोलास्थित चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्थाको २१औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारणसभामा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्य, विद्यार्थी तथा संस्थामा योगदान पुर्याउने व्यक्तिलाई प्रमाणपत्रसहित पुरस्कृत तथा सम्मान गरिएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष उमेश अधिकारीले संस्थागत प्रतिवेदन, उपाध्यक्ष एवं ऋण उपसमिति संयोजक धनबहादुर गौतमले ऋण उपसमितिको प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक कुमारमणि दाहालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा ज्येष्ठ शेयर सदस्य पूर्णलक्ष्मी घिमिरे र ऋषिप्रसाद फुयाल, उत्कृष्ट बचतकर्तामा वीरबहादुर राई, असल कारोबारमा कविता श्रेष्ठ तथा बाल बचतकर्तामा ईसा सुर्खेतीलाई पुरस्कृत गरिएको थियो ।
त्यसैगरी संस्थापक अध्यक्ष लक्ष्मण कटुवाल, पूर्व उपाध्यक्ष अर्जुनप्रसाद देवकोटा, पूर्व सदस्य कल्पना पराजुली, गोकर्ण राई, मनमाया राई र भीमप्रसाद वाग्लेलाई सम्मान गरिएको थियो । निर्वाचन समिति, पूर्व सल्लाहकार तथा शिक्षा उपसमितिका पूर्व पदाधिकारीलाई समेत सम्मान गरिएको संस्थाले जनाएको छ ।
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने देविना सञ्जेललाई ४.०० जीपीए र सुनैना घिमिरेलाई ३.७४ जीपीए प्राप्त गरेबापत नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
हेटौँडा उपमहानगरपालिका–१७ की वडा सदस्य एवं संस्थाकी शेयर सदस्य लेखकुमारी तिमल्सिनाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष उमेश अधिकारीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष लक्ष्मण कटुवाल, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, लक्ष्मीनारायण दुग्ध सहकारीका अध्यक्ष अर्जुनप्रसाद देवकोटा, नारी चेतना सहकारीकी कोषाध्यक्ष शर्मिला सिग्देल र प्रगतिशील महिला आपसी विकास संस्थाकी व्यवस्थापक कल्पना पराजुलीलगायतको आतिथ्यता रहेको थियो ।
संस्थाकी व्यवस्थापक रीता फुयालका अनुसार सहकारीको शेयर पुँजी ५२ लाख १० हजार रुपियाँ, निक्षेप तीन करोड १६ लाख रुपियाँ र कर्जा लगानी तीन करोड २५ लाख रुपियाँ रहेको छ । सहकारीमा ६०२ जना शेयर सदस्य र १५५ जना बाल बचतकर्ता रहेका छन् ।


भीमसेन पौडेल 










प्रतिक्रिया दिनुहोस्