हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशको गौरव भएकाले यसको विस्तार गर्न कुनैपनि कमि हुन नदिने बताएका छन ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोश्रो बार्षिक उत्सवको सभालाई सम्बोधन गर्दै मन्त्री लामाले प्रतिष्ठानलाई उत्कृष्ट अध्ययन संस्थान बनाउनका लागि आफु सदैव लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । हेटौंडा अस्पताल हाल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोग गर्ने ठाउँ रहेको स्मरण गराउँदै हेटौंडा अस्पतालको स्तरबृद्धि गर्न स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने बताए । बागमती प्रदेशको राजधानीको अस्पताल रहेकाले हेटौंडा अस्पतालको विकास र सेवा विस्तार गर्नका लागि स्वास्थ्य मन्त्रालय सधैं तत्पर रहेको जिकिर गरे ।

प्रतिष्ठानको भौतिक पूर्वाधार तथा शैक्षिक सुधारका सरकारले १९ करोड ५२ लाख बिनियोजित गरेको बताए । प्रतिष्ठानका लागि आवश्यक पर्ने बजेटका लागि स्वास्थ्य मन्त्रालयले सधैं सहयोग गर्ने उनको भनाई छ । कोभिडको बेलामा स्वास्थ्यकर्मीले गरेको कामको पनि मन्त्री लामाले प्रशंसा गरे ।