हेटौंडा । यात्रुसंग तोकिएको भन्दा बढी भाडा लिएको भन्दै हेटौंडामा ६ वटा सुमो कारबाहीमा परेका छन् ।

बीरगञ्ज–हेटौंडा–काठमाडौं सञ्चालन हुने सुमोले बढी भाडा लिएको गुनासो पश्चात जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले छड्के गर्दा ६ वटा सुमो कारबाहीमा परेका हुन् । सुमोले प्रतिव्यक्ति ५० देखि ३५० रुपैयाँ सम्म बढी भाडा लिने गरेको पाइएको छ ।

बढी भाडा लिएको सुमोलाई कारबाही गर्दै भाडा फिर्ता समेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर प्रमुख (प्रहरी निरीक्षक) मुनेन्द्र थापाले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालयका अनुसार बीरगञ्ज काठमाडौं सञ्चालन हुने २ वटा र हेटौंडा काठमाडौं सञ्चालन हुने ४ वटा सुमो कारबाहीमा परेको हो ।

बीरगञ्ज काठमाडौं रुटमा चल्ने ना २ च ६२८४ र ना १ ज ५०५३ तथा हेटौंडा काठमाडौं रुटमा सञ्चालन हुने ना १ ज ७३१९, ना १ ज २१५३, बागमती प्रदेश ०३–००१ ज ०२५१ र बा २० च ५५६० नम्बरको सुमोले बढी भाडा लिएको पाइएपछि प्रहरीले कारबाही गरेको हो ।

यात्रुसंग बढी भाडा लिने सुमोलाई ६ सय देखि एकहजार ५ सय रुपैयाँसम्म जरिवाना तिराएर सचेत गराइएको ट्राफिक प्रमुख थापाले बताए । चाडपर्व सुरु भएसंगै सुमोले यात्रुसंग बढी भाडा लिने गरेको गुनासो प्रत्येक बर्ष आउने गरेको छ ।

यात्रुको गुनासोको आधारमा छड्के गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख थापाले चाडपर्वको मौका छोपेर बढी भाडा लिएमा प्रहरीलाई खबर गर्न अनुरोध गरेका छन् ।

चाडपर्वको नाममा कसैलाई पनि बढी भाडा लिने र मनपरी गर्ने छुट नभएको उल्लेख गर्दै उनले तोकिएको भन्दा बढी भाडा नतिर्न पनि सर्वसाधारणलाई अनुरोध गरेका छन् । प्रष्ट खबरबाट