हेटौंडा । मकवानपुर प्रहरीले १२ वर्षीय बालकको हत्या गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. १६ बस्ने मेघबहादुर थिङको छोरा मुस्कान भनिने सुजन थिङको हत्या गर्ने एक जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नं. १६ बाबियोडांडा बस्ने रामबहादुर भोम्जनका छोरा वर्ष ३८ को आईत सिं भोम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, पुस ९ गते दिउँसोदेखि बेपत्ता भएका मुस्कान घरबाट अन्दाजी ३०० मिटर पश्चिममा रहेको जरुङगे सामुदायिक वनमा दुबै हात शरीरको पछाडी पट्टी कपडाको सलले बांधी क्यामुनाको रुखमा सेतो र रातो रंगको खादाले घांटीमा बांधी पासो लगाई झुण्डिएको अवस्थामा पुस १० गते बिहान ७ बजेको समयमा मृत अवस्थामा फेला परेको थियो ।

तालिम प्राप्त कुकुरसहित घटनास्थलम पुगेको प्रहरी नायव उपरीक्षक कार्कीको टोलीले घटनाको प्रारम्भिक अनुसन्धान पश्चात उक्त घटनामा संलग्न हुन सक्ने आशंकामा स्थानीय ७ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिएको थियो ।

प्रहरीले सोही घटनाको अनुसन्धानको क्रममा पुस १२ गते मंगलबार भोम्जनलाई घरबाटै नियन्त्रणमा लिई सोधपुछ गर्दा मुस्कानको हत्या आफुलेनै गरेको भनि स्वीकार परेपछि निजलाई सार्वजनिक गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

पक्राउ परेका भोम्जनलाई बुधबार जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई ६ दिनको म्याद थप गरी आवश्यक कानूनी कारबाही गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनका अनुसार, मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम कसुर गरेकोले जन्मकैद सम्मको सजाय हुनेछ ।