हेटौँडा । दोस्रो कमाने महोत्सव–२०८१ पुस ११ गतेबाट सुरु हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव बारे आयोजकले जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा हेटौँडा–८ का वडाअध्यक्ष रामकृष्ण थापाले स्थानीय पर्यटन, स्थानीय सांस्कतिक प्रबर्द्धन, स्थानीय व्यापार प्रदर्शनी भन्ने मुल नाराका साथ आउँदो पुष ११ गतेबाट १३ गते सम्म महोत्सवको आयोजना गरिने जनाएका हुन् । वडा भित्र रहेका स्थानीय कला सँस्कृति पहिचान र व्यापार, व्यवसाय प्रदशनी गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको वडाका अध्यक्ष थापाले बताए ।
कार्यक्रमलाई थप आकर्षक बनाउन वडा भित्र रहेका २१ वटा बाल समुहहरुको विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि हुने बताइएको छ । वडामा हुने यस महोत्सवले वडाका उत्पादनलाई बजारीकरण गर्न, विभिन्न समुहहरुका सीपलाई उजागर गर्नुका साथै वडाका होटल व्यवसायीलाई आर्थिक टेवा पुग्ने विश्वासका साथ महोत्सव आयोजना गरिन लागिएको कार्यक्रम संयोजक राजेश ढुङ्गानाले जनाएका छन् ।
तीन दिने महोत्सव सम्पन्न गर्न कुल ८ लाख रुपैँया लागत लाग्ने अनुमान रहेको आयोजकले जानकारी दिएको छ । गत वर्ष पनि कमाने महोत्सवको आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्