हेटौँडा । सेतो सपक्क परेका रौं, छोटा र ठाडा कान, मिलेको शरीर, लामो ठाडो र पातलो सिङ्गका साथै सपक्क दारी तथा माउको बिकसित ठूलो कल्चौडोको पहिचान भएको बाख्रा हो, सानन ।

दूध उत्पादनको लागि पालिने बाख्रा भएकाले यसलाई गरिबको गाई समेत भन्ने गरिएको बाख्रा विकास फार्म चित्लाङका फार्म प्रबन्धक विश्वेश्वर प्रसाद यादवले बताए । गाई भैंसी पाल्न नसक्ने र सानो क्षेत्र, घाँसको अभाव भएका किसानले दूधका लागि सानन बाख्रा पाल्न सक्ने उनको सुझाव छ । “एउटा बाख्राले दिनमा तीनदेखि चार लिटरसम्म दूध दिने गरेको छ, बाख्राले बच्चालाई दूध खुवाएर पनि यतिधेरै दूध आउने भएकाले यो गरिबको गाई पनि हो,”–फार्म प्रबन्धक यादवले भने ।

सानो परिवारलाई तीनदेखि चार लिटर दैनिक दूध हुँदा मनग्य पुग्ने गरेको बताउँदै बाख्राको दूधमा कोलेस्ट्रोलको मात्र शून्य भएकाले यो संसारकै उत्कृष्ट भएको जानकारी उनले दिए । भर्खर जन्मेकादेखि जुनसुकै उमेर समूहले बाख्राको दूध खान मिल्ने प्रतिक्रिया दिर्दे बाख्राको दूध अमृत समान भएको उहाँको भनाई छ । प्रेसर, सुगर भएका बिरामीलाई पनि बाख्राको दूध पिउन उपयुक्त रहेको फार्म प्रबन्धक यादवको तर्क छ ।

नेपालमा २०७२ सालबाट सानन बाख्रा भित्र्याइएको थियो । कृषि तथा खाद्य सुरक्षा आयोजना मार्फत बाख्रा विकास फार्म चित्लाङमा पाँचवटा बाख्रा ल्याएर हाल बढाउँदै ३५ वटा पुर्याइएको फार्म प्रबन्धक यादवले जानकारी दिए । फार्ममा माउको सङ्ख्या कम भएकाले किसानलाई बिक्री नगरेको जानकारी दिर्दे उनले ५० वटा पुगेपछि माउ तथा पाठी पनि बिक्री गरिने बताए । बाख्राले प्रायः पाठा धेरै जन्माउने भएकाले पाठी दिन नसकिएको हो । सानन जातको वयस्क बोकाको तौल ९० देखि १०० केजीसम्म हुने र बाख्राको तौल ७५ देखि ८० केजी सम्म हुने गरेको प्रबन्धक यादवको दाबी छ ।

शुद्ध साननको बाख्रा प्रतिकेजी १ हजारको दरले उपलब्ध गराइने यादवले जानकारी दिए । खरी बाख्रा प्रतिकेजी ५ सयका दरले बिक्री गर्ने गरिएको उनको भनाइ छ । किसानहरूले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएपछि मात्रै फार्मले बाख्रा बिक्री गर्ने गरेको छ । फार्मले बाहिरी जिल्लामा बाख्रा बिक्रीलाई प्राथमिकता दिने गरेको यादव बताउँछन् ।

सरकारी दररेट अनुसार सानन जातको पाठापाठी प्रतिकेजी एकहजारका दरले फार्म मार्फत बिक्री गर्ने गरेको उनले बताए । फार्मले दूध उत्पादन गर्ने किसानलाई प्राथमिकता दिएर पाठापाठी उपलब्ध गराउँदै आएको छ । चित्लाङ–१० मा फार्मकै समुह मार्फत बाख्राको दूधको चिज बनाउने गरेको जानकारी दिर्दै उनले त्यहाँका किसानले पनि दैनिक तीन लिटर सम्म दूध उत्पादन गरेको बताए । नेपालको चित्लाङ र पोखरामा बाख्राको दूधबाट चिज बनाइरहेको बताउँदै चितवनमा पनि तयारी भइरहेको उनको भनाई छ ।

दूध उत्पादनका लागि विश्वविख्यात बाख्राको जातमा पर्ने सानन पहिलो पटक १० देखि १२ महिनाको उमेरमा बालि जाने र ब्याएपछि ८ देखि १० महिनासम्म दूध दिईरहन्छ । यो जातको बाख्राको दूध उत्पादन क्षमता बढी भएकोले यो बाख्रालाई बाख्रा जगतकी दूधकी रानी पनि भन्ने गरिएको छ । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाको सीमाना चित्लाङमा रहेको सरकारी बाख्रा विकास फार्ममा अमेरिकाबाट ल्याईको र अमेरिकी तथ्याङ्क अनुसार प्रति वेत २००० लिटरको हाराहारीमा दूध उत्पादन रेकर्ड भएता पनि यस फार्मको रेकर्ड अनुसार प्रति वेत ८०० देखि १००० लिटर दूध उत्पादन रेकर्ड पाइएको छ ।

नेपालमा गरिएको अनुसन्धानबाट सानन जातको बाख्रा समुन्द्री सतह देखि १५००–२५०० मिटर सम्मको उचाइका क्षेत्रमा (दक्षिण मोहडा फर्केको पहाडी भेगमा अझ उत्तम) सफलतापूर्वक पालन गर्न सकिने फार्म प्रबन्धक यादवले जानकारी दिए । उनका अनुसार हाल बाख्रा विकास फार्म चित्लाङ, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम, बन्दिपुर तनहूँमा यो बाख्रा पालन गरिएको छ । बाख्रा विकास फार्म, चित्लाङले बागमती प्रदेशका बिभिन्न स्थानमा विधिवत तरिकाले बिभिन्न हावापानी र भूगोलमा बाख्रा बितरण गरिरहेको उनले जानकारी दिए ।

सानन जातका बाख्रा अन्य जातका बाख्राहरू भन्दा चाडो हुर्कने र दुध उत्पादनको लागि पालिने भएकोले यिनीहरूको आहाराको मात्रा अन्य जातका बाख्रालाई भन्दा बढाएर दिनुपर्ने यादवको भनाइ छ । सामान्यतया हाम्रो स्थानीय खरी बाख्रालाई शारीरिक तौलको २.५ प्रतिशत देखि ३ प्रतिशतसम्म सुख्खा पदार्थ भए पुग्नेमा सानन बाख्राको लागि कम्तिमा शारीरिक तौलको ४ प्रतिशतका दरले सुख्खा पदार्थ चाहिने उनले जानकारी दिए । सानन बाख्राको लागि जीवन निर्वाह, शारीरिक बृद्धि, प्रजनन, गर्भावस्थाका लागि पोषणको आवश्यक पर्दछ ।

बाख्रा विकास फार्म चित्लाङले सानन बाख्रालाई पूर्णरुपले बँधुवा प्रणालीमा राखेर आहाराको लागि यथेष्ठ मात्रामा मौसम अनुसारको डालेघाँस, तथा भुईघाँसका साथैं शारीरिक तौलअनुसार कच्चा प्रोटिन भएको पेलेट दाना र प्रशस्त मात्रामा सफा शुद्ध पानी खुवाउने गरेको उहाँको दाबी छ ।

तत्कालीन राणा शासकले २००१ सालमा स्थापना गरेको भेडा फार्म (हाल बाख्रा विकास फार्म)ले माग अनुसार किसानहरूलाई बाख्रा उपलब्ध गराउन सकेको छैन । फार्ममा उत्पादन भन्दा तेब्बर बढीले किसानबाट बाख्राको माग आएको फार्मले जानकारी दिएको छ । सरकारी फार्ममा शुद्ध नश्लको बाख्रा पाइने विश्वासले किसान र व्यवसायिक बाख्रा पालन गर्दै आएकाहरूले माग धेरै गर्ने गरेको फार्म प्रबन्धक यादवले बताए । फार्मले सानन, सानन र खरीको क्रस तथा शुद्ध खरी गरी तीन थरीको बाख्रा उत्पादन गर्दै आइरहेको हो ।

फार्मलाई चरिचरण क्षेत्रमा बाह्रै महिना हरियो घाँस नहुँदा बाख्रा, भेडा पालनमा समस्या हुँदै आएको छ । फार्ममा जग्गा पर्याप्त भएपनि चरिचरण क्षेत्र थोरै भएकाले वर्षको ६ महिना अर्थात बर्खे समयमा मात्रै बाख्रा र भेडाले पोषिलो घाँस खान पाउँछन् । फार्म खुलेको ७८ वर्षपछि गतवर्ष फार्ममा डिपबोरिङबाट पानी निकालिएको थियो ।वर्षायाममा चिसो कम, घाँसको पर्याप्तता र सिँचाइ समस्या नभए पनि हिउँदमा भने तुषारोले भुइँघाँस मर्ने, सुख्खा भएर डाले घाँसहरूको पात झर्ने, तुषारो नपर्ने फार्मको तल्लो भेगमा पानी अभावका कारण घाँसहरू सुक्ने, चिसोबाट बाख्रा विशेषतः पाठापाठीलाई बचाउन मुस्किल पर्ने जनाइएको छ ।

फार्मले वर्षायामको घाँसलाई सुकाएर राख्ने तथा नेपियर, मकै आदि घाँसलाई साइलेज (घाँसको गुन्द्रुक) बनाएर राख्ने र हिउँदको घाँस अभाव टार्ने गर्दै आएको थियो । फार्ममा बाख्रा, भेडा, मासुको लागि खरायो र दुधको लागि जर्सी गाई पालन गरिएको छ । फार्म पर्यटकीय स्थलका रुपमा पनि चर्चित छ ।