हेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले कम गुणस्तरका प्लाष्टिक झोलाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँपालिकाले सूचना जारी गर्दै वातावरणीय प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले ४० माईक्रोनभन्दा कम मोटाइका प्लाष्टिक झोलाको आयात, बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको जनाएको हो ।

गाउँपालिकाले “प्लाष्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका, २०८२” बमोजिम पालिका क्षेत्रभित्र उक्त व्यवस्था लागू गरिएको जनाएको छ । अबदेखि बजारमा ४० माईक्रोन वा सोभन्दा बढी मोटाइका प्लाष्टिक झोला वा कपडा तथा जुटका झोला मात्र प्रयोग गर्न अनुरोध गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीद्वारा हस्ताक्षरित सूचनामा प्रत्येक घर तथा व्यवसायबाट निस्कने कुहिने र नकुहिने फोहोर अनिवार्य रूपमा छुट्ट्याएर मात्र सङ्कलन गाडीमा पठाउनुपर्ने उल्लेख गरिएको छ । सूचनामा नियम उल्लङ्घन गरी कम गुणस्तरका प्लाष्टिक झोला प्रयोग गरेमा वा फोहोर वर्गीकरण नगरेमा सामग्री जफतसहित कानुनी कारबाही तथा जरिबाना गरिने चेतावनी दिइएको छ ।