हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको छैटौँ क्याम्पस सभा एवं नवनिर्मित भवनको उद्घाटन बागमती प्रदेश सभाका सांसद एकालाल श्रेष्ठले गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले शिक्षालाई रोजगारीसँग जोड्न सके विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई रोक्न सकिने बताए । शिक्षा र स्वास्थ्यमा राज्यले अधिकतम बजेट विनियोजन गर्नुपर्ने बताउँदै सांसद श्रेष्ठले प्रदेश सरकारले स्थानीय क्षेत्रमा सबैभन्दा बढी विकास गरेको दाबी गरे ।

बंशगोपाल बहुमुखी क्याम्पसलाई मकवानपुरको पूर्वी क्षेत्रको शैक्षिक गहनाका रूपमा विकास गर्न आफूले सदैव सहयोग गर्ने उनले बताए । सांसद श्रेष्ठले भने , “जबसम्म पढ्दै–कमाउँदैको अवधारणा पूरा हुँदैन, तबसम्म अध्ययनका लागि विदेश जाने क्रम रोक्न सकिँदैन।”

क्याम्पस सभाको बन्दसत्रले विश्वराज राईको अध्यक्षतामा आठ सदस्यीय नयाँ क्याम्पस व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गरेको छ। समितिको उपाध्यक्षमा पूर्णभद्र चौलागाईं तथा सदस्यहरूमा उदय बिडारी, विक्रम सञ्जेल, शुभद्रा तिमल्सिना, भरत सापकोटा, समाधान सापकोटा र पुष्पराज अधिकारी चयन भएका छन । १३ सदस्यीय समितिमा पाँच सदस्य मनोनयन गर्ने व्यवस्था रहेको छ।

सभामा क्याम्पसका अध्यक्ष उज्ज्वल चौलागाईंले विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

क्याम्पसका अध्यक्ष उज्ज्वल चौलागाईंको अध्यक्षतामा भएको सभामा हेटौँडा–६ का कार्यवाहक वडा अध्यक्ष विजय पौडेल, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख बद्रीबहादुर पाठक, हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पूर्णबहादुर जोशी, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यम सिलवाल, उद्योगपति अरुणराज सुमार्गी, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–६ का अध्यक्ष बासुदेव खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टी हेटौँडा नगर सचिव नरहरि चौलागाईं, राष्ट्रिय प्रजातन्त्र पार्टीका गुरुप्रसाद सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

क्याम्पसमा १७५ विद्यार्थी अध्ययनरत छन्। दुईतले पाँचकोठे क्याम्पस भवन ७५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको क्याम्पस प्रशासनले जनाएको छ।