हेटौँडा । सामुदायिक वन संरक्षण र व्यवस्थापनमा ख्याति कमाएको हेटौँडा उपमहानगरपालिका–६, चौघडास्थित रानी सामुदायिक वनको स्थलगत अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ ।

पछिल्लो समय लोपोन्मुख सालक संरक्षणमा सक्रियता बढाउँदै लगेको रानी सामुदायिक वनको दोलखा र सिन्धुपाल्चोक जिल्लाबाट आएका जनप्रतिनिधि, सञ्चारकर्मी तथा वनकर्मीले स्थलगत अवलोकन गरेका छन् ।

फरेष्ट एक्सन नेपालका कर्मचारी मदन बस्यालको नेतृत्वमा आएको भ्रमण टोलीमा दोलखा र सिन्धुपाल्चोकका जनप्रतिनिधि, वनकर्मी तथा सञ्चारकर्मी सहभागी थिए ।

अवलोकनका क्रममा रानी सामुदायिक वनका अध्यक्ष केशव धितालले सामुदायिक वनको अवस्था, सालक संरक्षणका लागि समूहले सञ्चालन गरेका गतिविधि तथा वन डढेलो नियन्त्रणमा गरिएका प्रयासबारे जानकारी गराउनुभएको थियो ।

त्यसैगरी, समूहका कार्यालय सचिव भीमसेन पौडेलले वन संरक्षण, सदुपयोग, संस्थागत विकास, सामाजिक कार्य तथा पर्यापर्यटनका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

सर्वमान्य गणेशमान सिंह वन संरक्षण प्रथम पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित रानी सामुदायिक वनको हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५८४ वटा भ्रमण टोलीले अवलोकन गरिसकेको कार्यालय सचिव पौडेलले बताए।

भीमसेन पौडेल
थप जानकारी