हेटौँडा । बागमती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या देखिएको छ । हेटौँडाको औद्योगिक क्षेत्रमा रहेको माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश, हेटौँडाले माटो परीक्षणका क्रममा माटोमा उच्च अम्लीयपनको समस्या पाएको हो ।

प्रदेशमा माटो परीक्षणमा करिब ८० प्रतिशत माटोमा अम्लीयपनाको समस्या देखिएको माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाका कार्यालय प्रमुख डा. जनार्दन खड्काले जानकारी दिए। प्रदेशमा माटो परीक्षणका क्रममा माटोमा ५० प्रतिशत प्राङ्गारिक पदार्थको कमी, वर्षाको पानी, माटो चट्टान बन्ने प्रक्रिया र मानवीय व्यवस्थापनका कारण माटोमा अम्लीयपनको समस्या बढ्दै गएको कार्यालय प्रमुख डा. जनार्दन खड्काले जानकारी दिए ।

कृषिचुनको प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले ५० प्रतिशत माटोमा भएको प्राङ्गारिक पदार्थको कमी माटोको दोस्रो ठुलो समस्याका रूपमा रहेकाले गुणस्तरयुक्त प्राङ्गारिक पदार्थको उत्पादन गर्न भकारो सुधार, गहुँतको संरक्षण र सदुपयोग र प्रयोग हुनुपर्नेमा जोड दिए।

असन्तुलित रासायनिक मलखादको प्रयोग, परिवर्तित बाली चक्रको अनुसरण र विभिन्न रसायनयुक्त प्रयोगले माटोमा भएको सूक्ष्म जीवाणुको सङ्ख्या न्यून हुँदै माटो मृत अवस्थामा पुग्ने बताउँदै माटोमा सूक्ष्म जीवाणुमलको प्रयोग तेस्रो महत्वपूर्ण विषयका रूपमा रहेको उनको भनाइ छ ।

काठमाडौँ उपत्यकासहित व्यावसायिक तरकारी, कृषि खेती हुने जिल्लाहरू काभ्रे, ललितपुर, धादिङ, नुवाकोट, चितवन र मकवानपुरको माटोमा अम्लीयपनको समस्या बढी पाइएको उनले बताए । माटो तथा मल परीक्षण प्रयोगशाला, बागमती प्रदेशले विगत चार वर्षको अवधिमा गरेको माटो परीक्षणबाट उच्च अम्लीयपना देखिएको हो । प्रदेशको २० लाख ३० हजार हेक्टर कुल क्षेत्रफलमध्ये तीन लाख २८ हजार २९७ हेक्टर अर्थात् १६.१७ प्रतिशत भूभाग जमिन खेतीयोग्य छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अनुसार जसमा दुई लाख ८९ हजार ६६२ हेक्टर जग्गामा खेती गरिएको छ । यहाँको उर्वरा जमिनमा अम्लीयपना हरेक वर्ष ८० प्रतिशतको दरमा देखिएको हो ।

गाईवस्तुको मलमा कमी आउनु, झार माटोमै कुहाउन छोड्नु, भाडामा जग्गा लिनेले गाईवस्तुको मल नहाल्नुले माटोमा प्राङ्गारिक पदार्थको कमी देखिएको प्रयोगशाला प्रमुख डा. खड्का बताउँछन। माटोमा पाइने नाइट्रोजन, पोटास र फस्फोरसको मात्रा भने स्थिर देखिएको छ । खाद्य तìव फस्फोरस र पोटासको मात्रा ३० प्रतिशत कमी देखिएको भन्दै खड्काले समस्या नभएको बताए। राष्ट्रिय कृषिगणना २०७८ को तथ्याङ्क अनुसार प्रदेशका अधिकांश कृषकले माटो परीक्षण नगराएको देखिन्छ । बागमती प्रदेशको कुल कृषक परिवार सङ्ख्याको तीन प्रतिशत अर्थात् एक लाख छ हजार कृषक परिवारले मात्रै माटो परीक्षण गराएका छन् ।