हेटौँडा । ५२ औं विश्व वातावरण दिवसको सन्दर्भमा मकवानपुरको मनहरी गाउँपालिकामा प्रभातफेरी र वृक्षरोपण कार्यक्रमको आयोजना भएको छ ।

गाउँपालिका कार्यालयको आयोजनामा मनहरी ९ रजैयामा रहेको अग्नीहोत्राश्रमदेखि रजैयाचोक हुँदै लामिटार सभाहलसम्म प्रभातफेरीको आयोजना गरिएको हो । प्रभातफेरीमा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीसहित जनप्रतिनिधि, कर्मचारी, चैनपुर जेसीज मनहरी, वन समिति र टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रभातफेरी पश्चात सभाहल वरपर विभिन्न प्रजातीका विरुवा रोपिएको थियो । कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले वातावरण जोगाउनु हरेक नागरिकको दायित्व भएको बताए । ‘मान्छेको लापरबाहीले वातावरण प्रदुषण भैरहेको छ’, अध्यक्ष कालाखेतीले भने, ‘वातावरण जोगाउने विषयलाई व्यवहारमा उतार्न जरुरी छ ।’ बोटविरुवा रोप्नुका साथै त्यसलाई जोगाउन समेत जरुरी रहेको उनको भनाई थियो ।

गाउँपालिकाका सामाजिक विकास समिति संयोजक समेत रहेका ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, स्रोत शिक्षक विदुरविक्रम थापा लगायतले वातावरण जोगाउनु आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनाल, ७ नम्बरका कार्यबाहक अध्यक्ष नवराज सुवेदी, वरिष्ठ लेखा अधिकृत राजेन्द्रप्रसाद भट्टराई, चैनपुर जेसीज मनहरीका अध्यक्ष गणेशदर्पण अधिकारी लगायतको आतिथ्यता रहेको थियो । वातावरण दिवसको अवसरमा मनहरीमा ४५० थान विभिन्न प्रजातिका विरुवा रोपिएको गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले जानकारी दिए ।