चिरुवा खोलामा निर्माण हुँदै गरेको लखन खहरे हुँदै श्री ज्ञान मन्दिर आधारभूत विद्यालय जोड्ने पक्की पुल ।
चिरुवा खोलामा निर्माण हुँदै गरेको लखन खहरे हुँदै श्री ज्ञान मन्दिर आधारभूत विद्यालय जोड्ने पक्की पुल ।

हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–३ स्थित तामाङ र माझी समुदायको बस्तीमा पक्की पुल निर्माण भइरहेको छ । चिरुवा खोलामा लखन खहरे हुँदै श्री ज्ञान मन्दिर आधारभूत विद्यालय जोड्ने उद्देश्यले पुल निर्माण भइरहेको बागमती गाउँपालिका–३ का वडाध्यक्ष एवं प्रवक्ता कमानसिं पाख्रिनले जानकारी दिए ।

२०८२ असोजबाट सुरु भएको पुल निर्माण कार्य २०८३ पुस मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ५ करोड ५ लाख ५३ हजार ३८० रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त पुलको ठेक्का ओम निर्माण सेवा, काभ्रेले पाएको छ । पुलको लम्बाइ ४० मिटर र चौडाइ ८.४० मिटर रहेको छ ।

पुल निर्माण सम्पन्न भएपछि साविक राइगाउँ गाविस–८ र ९ का हालका बागमती गाउँपालिका–३ का करिब ७० प्रतिशत समुदाय लाभान्वित हुनेछन् । बर्खायाममा चिरुवा खोलामा आउने भेलबाढीका कारण समस्या भोग्दै आएका स्थानीयवासी पुल निर्माणसँगै खुसी भएका छन् । प्रदेश सरकारको ठुलो लगानीमा वडामा पुल निर्माण भइरहेको हो ।

पुल नहुँदा बर्खायाममा बिरामी परेका व्यक्तिलाई अस्पताल लैजान कठिनाइ हुने गरेको स्थानीयवासी बताउँछन् । पुल निर्माण सम्पन्न भएपछि सहज रूपमा अस्पताल जान सकिने भएको छ । बर्खामा खोलामा बाढी आउँदा सुत्केरीको आवतजावतमा समस्या हुने गरेको उल्लेख गर्दै स्थानीय हर्क माझीले पुल बनेपछि ती दुःखका दिन अन्त्य हुने बताए ।

यसअघि पुल नहुँदा बर्खायाममा करिब तीन महिना विद्यालयसमेत बन्द हुने गरेको थियो । जनयुद्धका सहिद परिवारका बालबालिकासमेत अध्ययनरत श्री ज्ञान मन्दिर आधारभूत विद्यालयमा बर्खाको समयमा आवतजावतमा समस्या हुने गरेको शिक्षक मगरसिं पाख्रिनले जानकारी दिए । न्यून आर्थिक अवस्था रहेका तामाङ र माझी समुदायको बाहुल्यता रहेको यस क्षेत्रका अधिकांश स्थानीय कृषि पेशामा निर्भर छन् ।